काठमाडौँ, २४ कात्तिक । काठमाडौँ क्षेत्र नम्बर २ प्रतिनिधसभा सदस्य उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य कुन्तीदेवी पोख्रेलले आगामी मंसिर ४ गते राप्रपाले विजय हासिल गर्न ढोका खोल्ने सुनौलो दिन भएको बताएकी छन् ।
काठमाडौँ–२ शखंरापुर नगरपालिकाको वडा नम्बर २ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएक हुन् । उनले मतदाता नेता कार्यकर्ताको आम समर्थन वृद्धि भइरहेको र आफूले जित्ने पक्कापक्की भइसकेकाले आगामी मंसिर ४ गते सुनौलो दिन भएको बताएकी हुन् ।
काठमाडौँ क्षेत्र नम्बर २ का जनताले राष्ट्रघाती, देशद्रोही तथा अन्य अत्याचारीलाई हराउन आफू सक्षम भएको पनि उनले बताउन भ्याइन् । उनी अगाडि थप्छिन्, “उहाँहरु साझासिधा जनता झुक्याउँदै विभिन्न चुनावी क्षेत्र चहार्दै हिँड्नुभएको छ । चुनावपछि कहाँ पुग्नुहुन्छ थाहा छैन अहिले विभिन्न प्रलोभन देखाउँदै हिँड्नुभएको छ । त्यस्ता उधारा आश्वासन र फोस्रा नारामा नअलमलिन आग्रह गर्दछु ।’
जनताले आफैँ सचेत भएर राप्रपालाई ‘हलो’मा भोट हाल्नु पर्ने दिन आएको उनले उल्लेख गरिन् । यतिबेला क्षेत्र नम्बर २ मा आफूले बनाएका योजनाहरुले यहाँका आमाजनताको मन र विश्वास जित्न सफल रहेको उनको बुझाइ छ ।
उनी अगाडि भन्छिन्, “अब हामी आफ्नो अधिकारको लागि आफैँ सचेत हुन आवश्यक छ । त्यसको लागि समयमै बुद्धि पुर्याउनुपर्छ । समय घर्कीसकेपछि पछुताएर केही हुँदैन ।’ परीक्षामा सही उत्तर लेखियो भने मात्रै राम्रो नतिजा हात लाग्ने उनको भनाइ थियो । ‘मंसिर ४ गते सुनौलो दिनको ढोका खुल्ने दिन भएकाले सचेत भएर आफ्नो मतको उपयोग गरौं,’ पोख्रेल सुझाउँछिन् ।