दमक, २३ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् ।
झापाको दमकमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न पार्टी आए पनि तिनका विचार, व्यवहार हेरेर मात्रै मंसिर ४ गते हुने निर्वाचनमा मतदान गर्न आग्रह गरे । उनले अरू पार्टीमा देश बनाउने नीति नरहेको आरोप लगाउँदै आम मतदाताको रोजाइ एमाले रहेको समेत बताए ।
अध्यक्ष ओलीले अब देश विकासको जिम्मा एमालेले लिएको बताए । एमाले नेतृत्वको सरकार हुनुभन्दा अघि पनि विभिन्न सरकार बने पनि विकास निर्माणको गति एमाले नेतृत्व सरकार भएपछि मात्र लिएको उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले देशमा विकासको मार्ग रेखा एमालेले नै कोरेको भन्दै बाँकी विकास निर्माणको कार्यभार पनि एमालेले नै पूरा गर्ने पनि बताए । नेपालमा औद्योगीकरण, गरिबी निवारण, पर्यटन क्षेत्रको विकासजस्ता कुराहरूमा एमालेको अगुवाइमा रहँदै आएको भन्दै ओलीले आगामी चुनावमा एमालेलाई विजयी गराई देश विकासको जिम्मा एमालेलाई दिएर ढुक्क हुन समेत उनले आग्रह गरे ।
एमालेका कुनै पनि जनप्रतिनिधिले जनविरोधी कार्य गरे वा भ्रष्टाचार गरे त्यसको जिम्मेवारी एमालेले लिने भन्दै उनले ढुक्क भएर एमालेलाई विजयी गराउनसमेत उनले आग्रह गरे ।