कुन्ती पोख्रेल भन्छिन्– संस्कृतिको रक्षाका लागि मैले जित्नैपर्छ

24

काठमाडौँ, २३ कात्तिक । आगामी मंसिर ४ मा हुन गइरहेको निर्वाचन आउन अब १० दिन मात्रै बाँकी छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि विभिन्न पार्टी तथा स्वतन्त्रबाट उम्मेदवारी दिएका नेताहरू आफ्ना चुनावी क्षेत्रमा भएभरको बल निकालेर प्रचार अभियानमा जुटेका छन् ।

त्यसैगरी काठमाडौँ–२ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोख्रेलले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएकी छन् । उनले बुधवार काठमाडौँ क्षेत्र नम्बर २ अन्तर्गत तीनकुने, गैरीगाउँ, सिनामंगललगायतका स्थानीयमाझ भेटघाट तथा घरदैलो कार्यक्रम गरेकी छन् ।

भेटघाटका क्रममा पोख्रेलले पुराना दलका नेताले पटक–पटक प्रतिनिधित्व गर्दा पनि यस क्षेत्रको विकास र धर्म, संस्कार, संस्कृतिको रक्षा गर्न नसकेको भन्दै रक्षाका लागि आफूलाई मतदान गर्न मतदातासँग आग्रह गरिन् । उनले पुराना नेताले धर्म निरपेक्षताको नाममा धर्म, संस्कार र संस्कृतिको धज्जी उडाएकोप्रति आपत्ति जनाउँदै संस्कारको राजनीति विकासका लागि आफूले जित्नुपर्ने अडान राखिन् ।

‘यस क्षेत्रका स्थानीयबाट राम्रो समर्थन पाएकाले म र मेरो टिम उत्साहित छौँ,’ पोख्रेलले भनिन्, ‘एजेन्डा क्लियर भएकाले हाम्रो जित सुनिश्चित भइसकेको खाली आधिकारिकताका लागि मंसिर ४ कुर्नुपर्ने हो । मैले यस क्षेत्रमा जितेपछि जनताका आवश्यकता परिपूर्ति गर्नेगरी कानुन निर्माण गर्न दबाब दिन्छु ।’ उनले सफा, सुन्दर, सुरक्षित सहर र दिगो विकासका लागि राप्रपाबाट आफू आएकाले ‘हलो’मा मत दिई विजयी बनाउन मतदातासँगआग्रह गरिन् ।

सडक निर्माणमा ढिलासुस्ती, पर्यटन प्रवर्द्धनमा पछौटेपन, खानेपानी, ढल निकास र करिडोरमा भएको लापरबाहीले यस क्षेत्रका जनता मारमा परेकोप्रति आपत्ति जनाउँदै आफूले चुनाव जितेपछि चुस्त, दुरुस्त र दिगो विकासमा कटिवद्ध रहने छु,’ पोख्रेलले प्रतिवद्धता जनाइन् । उनले यस क्षेत्रका धार्मिक मठमन्दिर, ऐतिहासिक पुरातात्विक महत्वका साली नदीजस्ता धरोहरहरु धर्मनिरपेक्षताका कारण अस्तित्वबाट हराउन लागेको भन्दै त्यस्ता धरोहरहरुलाई धार्मिक पर्यटनमा विकास गर्न कानुन आवश्यक रहेकाले आफूले त्यो कानुन बनाउन संसद्‌मा आवाज उठाउने बताइन् ।

यस क्षेत्रका झन्डै ६५ प्रतिशत जनता विगत ३० वर्षदेखि खानेपानी, ढल निकास र फोहोरमैलाको समस्याले जाँजिएको भन्दै आफूले जितेपछि समस्या समाधानका लागि स्थानीय निकायसँग समन्वय गरी संसद्‌मा बलियो आवाज उठाउने पनि प्रतिवद्धता जनाइन् ।

Share This:
सम्बन्धित खबर
Loading...