अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ : प्रचण्ड

81

काठमाडौँ, १७ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

राजधानीमा आज आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गोरखास्थित वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको परिचयात्मक तथा भेटघाट कार्यक्रमmलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा मात्र नलिन सम्बद्ध नेता कार्यकर्तालाई आग्रह गरे ।

“मंसिर ४ को निर्वाचनमा प्रतिगमनले जित्ने कि अग्रगमनले जित्ने, सुशासनले जित्ने कि अराजकताले जित्ने भन्ने छ, यो सामान्य निर्वाचन मात्र होइन, अन्य निर्वाचनभन्दा भिन्न छ,” उनले भने, “यो निर्वाचनमा अग्रगमनलाई जिताउन पूरा तगतका साथ एकताबद्ध भएर लाग्नुपर्ने छ ।”

आर्थिक समृद्धिमार्फत् जनताको मन नजितेसम्म राजनीतिक परिवर्तन दिगो हुन नसक्ने जिकिर गर्दै उनले अब विकास र समृद्धिको नयाँ यात्रा गोरखाबाटै सुरू हुने बताए ।

“नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर अब ढुक्कसँग जान सकिने वातावरण बनाउनु पर्ने छ । अब यो राजनीतिक प्रक्रियाको सफलताका निम्ति आर्थिक विकास अपरिहार्य शर्त हो,” गोरखा–२ का उम्मेदवारसमेत रहेका अध्यक्ष प्रचण्डले भने, “यदि हामीले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरू भएको अनुभूति दिलाउन सकेनौँ र आर्थिक क्रान्तिको खाका कोर्न सकेनौँ भने यो परिवर्तन दिगो हुँदैन । त्यसकारण परिवर्तनको दिगोपनाका लागि पनि आर्थिक समृद्धिको नयाँ खाका सुरू गर्नुपर्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...