युवामा ‘प्लस टू’ पछि विदेश जानुपर्छ भन्ने भइसकेको छ : कुन्ती पोख्रेल

28

काठमाडौँ, १७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्यतथा काठमाडौँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यउम्मेदवारी दिएकी कुन्तीदेवी पोख्रेलले युवाहरु रहरले नभइ बाध्यताले विदेश पलायन हुने गरेको बताएकी छन् ।

उनले राप्रपा काठमाडौँ क्षेत्र नम्बर २ द्वारा सिनामंगलस्थित पेप्सीकोलामा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा यस्तो बताएकी हुन् । उनले देशको राजनीतिक वितृष्णाले युवाहरु विदेशिएको बताइन् । ‘अहिलेको पुस्ताले नेपाली भाषा, लेख्न, पढ्न र बोल्न छोडिसकेका छन् किनभने उनीहरुमा ‘प्लस टू’ पछि विदेश जानुपर्छ भन्ने भइसकेको छ’, पोख्रेलले भनिन् ।

कार्यक्रममा उनले नेपालमा उद्योगी, व्यवसायीलाई लगानीको ग्यारेन्टी नभएकोप्रति आपत्ति जनाउँदै सरकारले लगानीमैत्री नीति ल्याउनु पर्नेमा जोड दिइन् । उनले आफू उद्यमीबाट राजनीतिमा आएकाले त्यसको अनुभव भएकौ भन्दै नीति निर्माण तहमा पुग्नुपर्ने दाबी गरिन् ।

पोख्रेलले जीवनभर देशको लागि योगदान गरेका खेलाडी, कलाकार, लेखक, साहित्यकार र पत्रकारहरुलाई ६० वर्षपछि पेन्सन र भत्ताको व्यवस्था हुनुपर्ने नीति ल्याउन आफूले संसद्मा भूमिका खेल्ने बताइन् । त्यस्तै, उनले ६० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई उपचार र औषधि निःशुल्क हुनु पर्नेमा जोड दिइन् ।

नेतृ पोख्रेलले देशमा परिवर्तन ल्याउन विकास, सुशासन र समाज सेवामा समर्पित हुनुपर्ने भन्दै त्यसका लागि आफूले संसद्मा पुग्नु पर्ने दाबी गरिन् । त्यस्तै, शिक्षा सर्वसाधारको पहुँचबाट बाहिर गएकाले सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउनु पर्ने भन्दै त्यसका लागि आफूले संसद्मा भूमिका खेल्ने जनाइन् ।

त्यसैगरी, राप्रपाका निवर्तमान अध्यक्ष पशुपति शमशेर जबराजले यो निर्वाचन चानचुने नभएको भन्दै सही समयमा सही निर्णय गर्न सकियो भने नेपालको सुनौलो भविष्य निर्माण हुने बताए ।

कार्यक्रममा उनले नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादीले केही गर्न नसक्ने भन्दै नेपाल निर्माणको जिम्मा राप्रपाले लिनु पर्नेमा जोड दिए । ‘हामीलाई सत्ता चाहिएर त्यहाँ जान खोजेका होइनौँ, खबरदारी गर्ने हो, हामीलाई कुनै लोभ छैन,’ राणाले प्रष्ट पारे ।

कार्यक्रममा राप्रपा काठमाडौँ अध्यक्ष नवराज सिंखडाले मुलुकलाई अग्रगति र सुशासन दिनका लागि राप्रपा आएको बताए । त्यस्तै, महामन्त्री भुवन पाठकले यो क्षेत्रमा बाहिरको मात्रै होइन, कहाँ कहाँको मान्छे आएर चुनाव जितेर सांसद, मन्त्री, प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा पुग्दा पनि क्षेत्रको विकास नभएकाले त्यस्तालाई आउन नदिन स्थानीय उम्मेदवार कुन्ती पोख्रेललाई जिताउनु पर्ने दाबी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...