निर्वाचनपछि पनि गठबन्धन सरकार रहिरहे देश श्रीलंकाको अवस्थामा पुग्छ : महासचिव पोखरेल

59

काठमाडौँ, ८ कात्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मंसिर ४ गतेको दिनलाई गठबन्धन सरकारको बिदाइको दिनका रूपमा लिनुपर्ने बताएका छन् । गठबन्धन सरकारले देश बनाएका उदाहरण दुनियाँमा कहीँ नभएको र वर्तमान गठबन्धनका दलहरू सत्ता स्वार्थमा केन्द्रित रहेकाले यिनीहरूलाई सरकारबाट बिदा गर्नु आवश्यक रहेको बताए ।

दाङको बिजौरीमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले देश बनाउन स्पष्ट नीति, नेतृत्व र बलियो शक्तिको आवश्यकता चाहिने भन्दै मुलुकमा त्यो शक्ति नेकपा (एमाले)मात्रै भएको बताए । ‘नेपाली कांग्रेसले एक सयभन्दा कम सिटमा उम्मेदवारी दिएको, माओवादीले एकतिहाइमा पनि उम्मेदवारी नदिएको र नेकपा (एकीकृत समाजवादी)ले २१ सिटमा उम्मेदवारी दिनुभनेको यी दलहरूले मुलुकमा राजनीतिक स्थिरता दिने र बलियो सरकार गठन गर्ने हैसियत गुमाइसकेका छन् भन्ने कुराको संकेत हो,’ उनले भने ।

वर्तमान गठबन्धन सरकार बनेयता मुलुकले आर्थिक संकटको सामना गरिरहेको, जनताले महँगीको मारमा पर्नुपरेको र किसानले खेतीपातीको समयमा मल नपाएको अवस्थाको चर्चा गर्दै उनले जनताका समस्यामा कुनै सरोकार नभएको गठबन्धन सरकारका दलहरूलाई निर्वाचनमा जनतासँग भोट माग्ने अधिकार पनि नभएको बताए ।

निर्वाचनपछि पनि गठबन्धन सरकार रहिरहे देश आर्थिक रूपमा श्रीलंकाको अवस्थामा पुग्ने उनको भनाइ थियो ।

उनले अध्यक्ष ओली नेतृत्वको सरकारले विश्वका उच्च आर्थिक वृद्धिदर भएका देशमध्ये नेपाललाई पुर्‍याएको थियो भने । देश र जनताका पक्षमा राम्रा काम गरिरहेको अध्यक्ष ओली नेतृत्वको सरकारलाई षड्यन्त्रपूर्वक अदालतको सहरा लिइ हटाइएको र त्यसयता विकासका काम रोकिएको, देश आर्थिक संकटतर्फ गएको महासचिव पोखरेलले बताए ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइ जनयुद्ध सुरू गरेको माओवादी केन्द्र १७ हजार मानिसको बलिदानपछि आज उनै देउवालाई प्रधानमन्त्री बनाउन लागिपरेको बताउँदै महासचिव पोखरेलले यसबाट प्रचण्डले जनयुद्धका सहिदहरूको अपमान गरेको बताए ।

देशमा विकास र समृद्धिसँगै राजनीतिक स्थायित्वको आवश्यकता रहेको र त्यो बलियो शक्तिबाट मात्र सम्भव रहेको बताउँदै महासचिव पोखरेलले एमाले बहुमतको सरकार बनाउने योजनाका साथ अगाडि बढेको बताए । गत स्थानीय तहको निर्वाचनमा ३४ प्रतिशत मत प्राप्त गरेको र त्यसमा ६ प्रतिशत बढाउँदा एमालेको बहुमतको सरकार बन्ने र गठबन्धन पनि पराजित हुने महासचिवको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...