अछाम, १६ साउन । अछाममा एक गाउँपालिकाका अध्यक्षले आफ्नी श्रीमतीलाई भान्सेमा नियुक्त गरेका छन् । कार्यालय सहायक सरहको तलब सुविधा पाउने गरी श्रीमती जयसरा साउदलाई उनले भान्से बनाएका हुन् ।
रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदले आफ्नी श्रीमती जयसरा साउदलाई भान्सेको जागिर दिलाएको खुलेपछि आलोचना भएको छ । अध्यक्ष साउदको ठाडो निर्देशनमा उनीकी श्रीमती साउदलाई विज्ञापन बिना नै कार्यालय सहयोगीको कोटामा भान्से पदमा नियुक्त गरेका थिए ।
करार सेवा अन्तरगत १५ जेठ गतेदेखि लागु हुनेगरि १५ मंसिरसम्म (६ महिना) का लागि उनले सो नियुक्त गरेका थिए । जसअनुसार श्रीमती जयसराले ले गाउँपालिकावाट मासिक २१ हजार ३ सय तलब र वार्षिक १० हजार पोशाक भत्ता सेवा सुविधा पाउने छिन् ।
करारमा गाउँपालिका अध्यक्ष साउदले आफ्नै श्रीमतीलाई जागिर दिएको भन्दै आलोचना भइरहेको विषयमा बुझ्दा प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारीले पालिका अध्यक्षको निर्देशनअनुसार नै करारमा भान्से नियुक्त गर्न लगाएको जनाए ।
श्रीमतीलाई जागिर दिलाएको बारेमा बुझन खोज्दा गाउँपालिकाका अध्यक्ष साउदले भने प्रतिक्रिया दिन आनाकानी गरेका छन् ।