काठमाडौँ, ४ साउन । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको घुसपैठ र सिसिटिभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले बुधबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग बयाँ लिँदै छ ।
बुधबार सिंहदरबारमा बस्ने समितिको बैठकमा शर्मालाई बयानका लागि बोलाइएको छ । समितिले यसअघि मन्त्रालयका अर्थ सचिव र राजश्व सचिव, सहसचिव र अन्य कर्मचारीसँग सोधपुछ गरिसकेको छ ।
समितिले पूर्वअर्थसचिव रामेश्वर खनाल, शिशिर ढुंगाना र शान्तराज सुवेदीलाई छलफलका लागि बोलाएको छ । त्यसैगरी समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको बारेमा पहिलो पटक समाचार लेख्ने अन्नपूर्ण दैनिकका पत्रकारसहित यस विषयमा समाचार लेखिरहेका अन्य पत्रकारलाई पनि छलफलमा बोलाएको छ ।
समितिले सिसिटिभीको हार्डडिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय समेत गरेको छ ।
बजेट निर्माणको क्रममा जेठ १४ गते अनधिकृत व्यक्ति सहभागी भइ कुनै निश्चित समूहलाई फाइदा पुग्नेगरी करका दर हेरफेर गरेको आरोप लागेपछि छानबिनका लागि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो ।
समिति बनेसँगै शर्माले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
याे पनि हेर्नुस्
अर्थमन्त्री छानबिन प्रकरण : मोटामोटी छलफल सकियो, निचोड निकाल्न बाँकी
अर्थमन्त्री प्रकरण : संसदीय विशेष समिति सदस्य हेरफेर
अर्थमन्त्री प्रकरण : छानबिन समितिद्वारा अर्थ मन्त्रालयको निरीक्षण