योगेश भट्टराईको प्रश्न– माध्यमिक विद्यालयमा पाठ्यपुस्तक कहिले पुग्छ ?

83

काठमाडौँ, १३ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद् योगेशकुमार भट्टराईले देशभरका विद्यालयमा पाठ्यपुस्तक अभाव भएको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले माध्यमिक विद्यालयका पाठ्यपुस्तक अहिलेसम्म नपुगेको विषयमा गम्भीर ध्यान दिन आग्रह गरे । नेता भट्टराईले शैक्षिक सत्र सुरु भएको एक महिना १३ दिन बितिसक्दा पनि देशभरका माध्यमिक विद्यालयका झन्डै ५० प्रतिशत पाठ्यपुस्तक नपुगेको भन्दै यसको दीर्घकालीन समाधान खोज्न सुझाए ।

उनले माध्यमिक तहमा करिब ८० लाख विद्यार्थी भर्ना भएका र तीमध्ये करिब ७५ प्रतिशत विद्यार्थी सामुदायिक तथा अन्य निजी विद्यालयमा अध्ययनरत रहेको जानकारी दिए ।

“हरेक वर्ष पुस्तक अभावको समस्या झेलिरहेका छौँ, यो विषय गीतका वर्षमा पनि उठाउँदै आएको र अहिले पनि जारी छ, सरकारले पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिइएको छ,” उनले भने,“आजसम्म निजी क्षेत्रबाट वितरण हुने कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक पुगेका छन्, त्यसभन्दा माथिका पाठ्यपुस्तक अहिलेसम्म पनि विद्यार्थीले पाएका छैनन् ।”

भट्टराईले हाली आफूले गरेको १६ विद्यालयको सर्वेक्षणले करिब ५० प्रतिशत पुस्तक नपुगेको, काठमाडौँकै दरबार हाइस्कुलमा अझै ३० प्रतिशत पाठ्यपुस्तक नपुगेको तथा बागमती प्रदेशमा पनि झन्डै ४० प्रतिशत पुस्तक नपुगेको पाइएको भन्दै अन्य प्रदेशको अवस्था कस्तो होला भनी प्रश्न गरे ।

Share This:
सम्बन्धित खबर
Loading...