एसपीपी राष्ट्रको हितमा छैन : टोपबहादुर रायमाझी

121

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले अमेरिकाको स्टेट पार्टनसीप प्रोग्राम (एसपीपी)मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् । एसपीपी सम्झौताबारे भन्दै बाहिर आएको मस्यौदा नेपालको हितमा नरहेको रायमाझीको दाबी छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले यस्तो बताएका हुन् । उनले अहिले नेपालका सबै दलहरु एसपीपी सम्झौता गर्न नहुने पक्षमा उभिएको पनि सुनाए ।

“एसपीपीको ऐतिहासिक पृष्ठभूमिको बारेमा अझै प्रष्ट र यथार्थ बाहिर आइसकेको छैन । अमेरिकाको प्रस्ताव हो कि नेपालको आफैँले प्रस्ताव गरेको हो कि ? को–को त्यहाँ संगल्न थिए भन्ने यथार्थ विवरण आएको छैन । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय समितिले पनि सबै वास्तविकता माग गरेको छ । कुन तिथि, मिति र कसको पालमा कस्ता प्रस्ताव गएका थिए र कस्ता प्रस्ताव आएका थिए भन्नेबारे समितिले माग गरेको छ । सबै डिटेल आएपछि चर्चा र छलफल गर्न सक्छौँ । अहिले धारणा राख्नु अपुरो हुन्छ,” उनले भने ।

नेता रायमाझीले अहिले एसपीपीबारे बाहिरिएको सम्झौताको मस्यौदा नेपालको हितमा नरहेको जिकिर गरे ।

अब देशलाई अहिलेका दल र यसका नेतृत्वकर्ताहरुले सही दिशा दिनुपर्नेमा पनि उनले जोड दिए ।

उनले एजेन्डाविहीन हुने अनि सरकार बनाउनका लागि गठबन्धन बनाउने कुरा यो देश र जनताको हितमा नभएको टिप्पणी गरे । उनले भने,“बहुमत नआए एजेन्डा मिल्नेसँग सहकार्य गर्ने कुरा न्यायसंगत हो, सरकार बनाउनका लागि त्यो पनि निश्चित समयका लागि सामान्य कुरा हो । चुनावमा सहकार्यका लागि पनि एजेन्डा मिल्नुपर्छ । अहिले एनी हाउ, सरकारमा जाउ र लुटेर खाउ भन्ने देखिएको छ । यो गलत हो ।”

Share This:
सम्बन्धित खबर
Loading...