काठमाडौँ, ३० जेठ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आगामी मंसिर पहिलो हप्ताभित्र नै संघ र प्रदेशको निर्वाचन हुने दाबी गरेका छन् ।
कात्तिक मसान्त वा मंसिर पहिलो साता संघीय÷प्रदेश सभा चुनाव हुने भएकाले तयारी गर्न उनले नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न बर्दिया पुगेका प्रचण्डले पत्रकारसँग भेटघाटका क्रममा स्थानीय चुनावजस्तै एकै चरणमा संघीय÷प्रदेशको चुनाव गर्ने तयारी रहेको बताए ।
‘मोटामोटी हामीले गठबन्धनभित्र छलफल गर्दा प्रतिपक्षको समेत मंसिर पहिलो हप्ता वा कात्तिक अन्तिममा नै निर्वाचन गर्नुपर्छ भन्ने भएको छ,’ उनले भने,‘हामी प्रधानमन्त्रीलगायत गठबन्धनमा छलफल गर्दा मंसिरको पहिलो हप्ता नै हुने सम्भावना छ । हामी कन्फ्युज हुनु पर्दैन चुनाव मंसिरमै हुन्छ ।’
उनले एकै चरणमा चुनाव गर्ने गरी छलफल गरिएको पनि बताए । तर, सुरक्षाका कारण दुई चरणमा गर्ने कि भन्ने कुरा पनि आएको उनको भनाइ थियो । ‘सेक्युरिटीको हिसावले दुई चोटी गर्ने कि भन्ने पनि छ । जे भए पनि मंसिरमा नै चुनाव सम्पन्न हुन्छ ।’