विराटनगर, २८ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आइरहेको भन्दै गरिरहेको भाषणबारे नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विराटनगर पुगेर जबाफ दिएका छन् ।
एमालेले अफर गरिरहेको संकेत गरेर बोलिरहेका नेताद्वयलाई लक्षित गर्दै उनले आफ्ना तर्फबाट त्यस्तो प्रस्ताव नगरिएको बताए । उनले भने,“मलाई प्रधानमन्त्रीको अफर आयो, म मान्या छैन भनेको सुनिन्छ । आफैँ प्रधानमन्त्रीको अफर आये रे, कसले गर्छ ? यो सबै बार्गेनिङ हो ।”
प्रचण्डले कांग्रेसलाई एमालेजस्तो बनाइन्छ भनेर घुर्की लगाउनु भागबन्डा बढाउने मेलो भएको ओलीले टिप्पणी गरे । प्रचण्ड र नेपालको औषधिउपचार थाहा भएको बताउँदै चिन्ता नलिन भनेर ओलीले कार्यकर्तालाई आश्वस्त पारे ।
“केही औषधि गर्नपर्यो त । अपरेसन गर्नु पर्यो हामी छँदैछ । हामीलाई उपचार गर्न आउँछ । तपाईंहरु ढुक्कले यहाँ पार्टी चलाउनुहोस्,” उनले भने ।
अध्यक्ष ओलीले आगामी निर्वाचनका लागि एमाले एक्लैले तयारी गरिरहेको भन्दै वाम गठबन्धन हुने सम्भावना नरहेको स्पष्ट पारे । उनले सरकारमा रहेका दलहरु वामपन्थी नरहेको टिप्पणी गरे ।
आफूले गरेको संसद् विघटनको बचाउ गर्दै ओलीले आफूले गरेको संसद् विघटना प्रतिगमन नभएको दाबी गरे । उनले कसैले प्रतिगमन भन्यो भने मुखमा औँला ठड्याए विरोध गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।
ओलीले शेरबहादुर देउवाले संसद् विघटना गरेर चुनाव नगराउँदा चाहिँ प्रतिगमन भएको उनको भनाइ थियो । “शेरबहादुरजी ज्ञानेन्द्रका पाउमा परिसक्नुभएको थियो । हामीले जनआन्दोलनको भरमा त्यसलाई बचायौँ र संसदीय व्यवस्था कायम राख्यौँ त्यति बेला प्रतिगमन हुनबाट बचाएका थियौँ,” उनले भने ।