काठमाडौँ, १७ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले कमिसन नआउने भएर नै शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट नबढाएको हो ? भनी अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन् ।
सचिव भट्टराईले सरकारले गएको वर्षकोभन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौती गरेको उल्लेख गर्दै कमिसन नआउने भएर नै त्यसो गरिएको हो भनी गम्भीर आशंका व्यक्त गरेका हुन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आउँदो आर्थिक वर्ष २०७९÷८० को बजेटमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे अन्तर्वार्ता दिँदा अर्थमन्त्रीहरुले कमिसन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कम ल्याउने गरेको भिडियो टिकटकमा भाइरल भन्दै आफूले पनि त्यसै गरेको हुनुपर्ने जिकिर गरे ।
‘यो बजेटको प्राथमिकता, यो बजेटको गन्तव्य कता हो भन्ने कुरा थाहा छैन । यो बजेट हेर्दा कतै–कतै हेर्दा सत्तरी, असी दशकतिरको माओत्सेतुङको गन्ध आउँछ । कतै–कतै यो बजेट हेर्दा अलिअलि मार्क्सको पनि गन्ध आउँछ । यो बजेट वास्तवमा के हो ? अहिले टिकटकमा अर्थमन्त्रीज्यूको एउटा भिडियो आइरहेको छ । त्यो भिडियोमा शिक्षाको बजेट किन बढाइएन भन्ने सन्दर्भमा उहाँले उत्तर दिनुभएको छ । उहाँले त्यो भिडियोमा कमिसन नआउने भएर अर्थमन्त्रीहरुले शिक्षा र स्वास्थ्यमा बजेट बढाउँदैनन् भन्नुभएको छ । आज उहाँले नै अर्थमन्त्रीको रुपमा यहाँ बजेट प्रस्तुत गर्नुभएको छ । शिक्षामा बजेट १० प्रतिशतको हाराहारी पनि पुगेको छैन । स्वास्थ्यको स्थिति हेर्ने हो भने गएको वर्षभन्दा बजेट घटाइएको छ । अब म अर्थमन्त्रीजीलाई नै सोध्न चाहन्छु– के साँच्चै कमिसन नआउने भएर शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा बजेट कटौती गर्नुभएको हो त ?,’ उनले भने ।
सांसद् भट्टराईले सरकारले प्रस्तुत गरेको बजेटको गन्तव्य नै यकिन नभएको टिप्पणी गरे । बजेट चौबाटोमा उभिएको भन्दै भट्टराईले कता जाने हो भन्ने गन्तव्य नै थाहा नभएको टिप्पणी गरे ।
‘यसपटक अर्थमन्त्रीले बजेट प्रस्तुत गरिरहँदा ब्रिफकेस तोडफोड भएन । संसद्का कुर्सी भाँचिएनन् । शान्तपूर्वक पढ्न पाउनुभयो । सायद हाम्रो लोकतन्त्र परिपक्व हुँदै छ । यो बजेटको प्राथमिकताहरु गन्तव्य कता हो भन्ने कुरा उठाइरहेका छौँ ।’