काठमाडौँ, १४ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका तर्फबाट फेरि पनि प्रधानमन्त्री भएर देखाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा माग लिँदै प्रचण्डले विगतमा माओवादीको सहयोग र मतले ओली प्रधानमन्त्री बनेको भन्दै आगामी निर्वाचनबाट एक्लै एमालेबाट प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका हुन् ।
ओलीलाई संकेत गर्दै प्रचण्डले भने,“माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री हुनुभएको उहाँ । एक्लै भएको छु भन्ने ठान्नुभएको छ भने त्यो भ्रम हटाइदिनोस् । तपाईं एक्लै प्रधानमन्त्री हुनुभएकै छैन ।”
प्रचण्डले ओली माओवादी केन्द्रको वैशाखी टेकेर प्रधानमन्त्री भएको टिप्पणी गरे । “पहिलोचोटी पनि माओवादी केन्द्रको तपाईंको भाषामा वैशाखी टेकेर हुनुभा हो । दोस्रोपटक हाम्रो पनि भोट लिएर हुनुभा हो । अब भएर देखाउनोस् त ! अबको चुनावबाट देखाउनोस् तपाईंलाई मानिन्छ ।”
उनले ओलीले पार्टीभित्र आन्तरिक रुपमा लज्जास्पद हार भएको संश्लेषण गर्ने र संसद् आएर सरकार र गठबन्धनले जबरजस्ती गर्यो भनेर गरेको टिप्पणी तर्कसंगत नभएको धारणा राखे ।
प्रतिपक्षी दलका नेता दम्भ, अहंकारबाट पछि हट्न नसकेको आफूले पाएको उनको भनाइ छ । उनले शान्ति सम्झौतालाई अपमान गर्ने काम कोही कसैले पनि गर्न नहुने बताए ।
प्रचण्डले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर, पार्टीभित्र भएको विवादलाई समाधान नगरेर जनप्रतिनिधिमूलक संस्थाको विघटन गरेकै कारण त्यसको जबाफ निर्वाचनमार्फत् जनताले दिएको जिकिर गरे । स्थानीय तहको निर्वाचनमा कुन राजनीतिक दलको सिट कति बढ्यो वा घट्यो भन्दा पनि संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढ्यो वा बढेन भन्ने नै अहिलेको मुख्य विषय भएको उनले बताए ।
त्यस्तै प्रचण्डले संविधान र मुलुकलाई दुर्घटनामा जानबाट रोक्ने उद्देश्यले वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै गठबन्धनलाई बलियो बनाउने र प्रतिगामीलाई निर्वाचनमार्फत् पररास्त गर्न जनतासमक्ष गरिएको अपिल धम्कीका रुपमा लिन नहुने बताए ।