काठमाडाैँ, १२ जेठ । नेपाली कांग्रेसका सांसद् मीनबहादुर विश्वकर्माले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले संसद्मा गरेको भाषण सत्ताबाट बाहिरिँदाको कुण्ठा भएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीको सम्बोधनपछि सञ्चाकर्मीहरुसँग बोल्दै सांसद् विश्वकर्माले यस्तो बताएका हुन् ।
उनले सरकारको नीति तथा कार्यक्रमका विषयमा भन्दा पनि अदालतको आदेशका विषयमा आफ्ना कार्यकर्तासँग बसेर गफ दिएको जस्तो भएको टिप्पण गरे । ओलीले हुँदै नभएका कुरालाई उखान टुक्कासँग जोडेर गफ र कुण्ठा पोखेको उनले बताए ।
‘आफ्ना कार्यकर्तासँग बसेर गफ गरेजस्तो गरेर सत्ताबाट बाहिरिँदाका कुण्ठा र पूर्वाग्रह पोख्ने काम भयो । कहाँको नीति तथा कार्यक्रम छ, कहाँ अदालतको आदेश छ । हुँदै नभएको कुरालाई उखान टुक्कासँग जोडेर गफ र कुण्ठााका अभिव्यक्त गर्ने कुरालाई लिएर हामीले आधार बनाउन मिल्दैन,’ उनले भने ।
सांसद् विश्वकर्माले ओलीको भाषण सरकारले प्रमुख प्रतिपक्ष दलले सरकारको नीति तथा कार्यक्रमप्रतिको टिप्पणीका रुपमा लिने बताए ।