चितवन, ७ जेठ । भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । ८० हजार १० मत गणना हुँदा पाँच दलीय गठबन्धनले आफ्नो अग्रता कायमै राखेको हो ।
गणनाअनुसार गठबन्धनबाट महानगर प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले छ हजार ५७० मतले अग्रता लिएकी छन् भने उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १४ हजार ४८३ मतले अग्रता लिएका छन् ।
दाहालले ३१ हजार २४३ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले २४ हजार ६७३ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार तीन मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार उपप्रमुखमा अधिकारीले ३३ हजार ६५३ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १९ हजार १७० मत प्राप्त गरिन् ।
भरतपुरमा हालसम्म वडा नम्बर १६ सम्मको गणना सम्पन्न भइसकेको छ । महानगरमा एक लाख २७ हजार ८३१ मत खसेको थियो । यस पालिकामा २९ वडा रहेका छन् ।