कविता सुनुवार हत्या प्रकरण : दुई जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

314

काठमाडौँ । उदयपुर जिल्लाको बेलका नगरपालिका–३ बुद्धचोकमा भएको बालिका हत्याका आरोपीलाई उदयपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया कविता सुनुवारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका भारतको सिक्किम राज्य बियुङ स्थायी घर भइ जिल्ला उदयपुर बेलका नगरपालिका–३ बस्ने विनोद ढकाल र बेलका नगरपालिका–३ की १७ की नाबालिकालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो ।

जिल्लाप्रहरी कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलन गरि हत्यामा संलग्नलाई सार्वजनिक गर्नुको साथै बालिकाको हत्या भएको सूचना पाएको दुई घन्टाभित्र हत्यामा संलग्नहरुलाई पक्राउ गर्न उदयपुर प्रहरी सफल भएको जनाएको छ ।

सार्वजनिक गरिएका आरोपी ढकाललाई ७ दिन र नाबालिकालाई उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शुवासचन्द्र बोहोराले जानकारी दिए ।

सुनुवारलाई ढकाल र नाबालिकाले योजनाबद्ध ढंगले बियरको बोतल र ढुंगाले किचेर हत्या गरेको खुल्न आएको छ ।

विद्यालयमा भएको समान्य झगडाको रिसिइबीको कारणले आरोपी नाबालिकाले नाताले दाजु पर्ने ढकालको सहयोग लिएर हत्या गरेको प्रहरीले जनाएको छ ।

यस्तै, उदयपुरका राजनैतिक दल एवम् विभिन्न संघ संस्था तथा अधिकारकर्मीहरुले कविता सुनुवार हत्याको सत्य तथ्य छानबिन गरी हत्यामा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...