जग्गा ठगी प्रकरण : मालपोत कार्यालयका कर्मचारीसँग बयान लिइँदै

458
  • भविन कार्की

खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ को जग्गा ठगी प्रकरणमा मालपोत कार्यालयका नायब सुब्बा महेन्द्र पराजुलीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टीकरण माग गरेको छ ।

भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटे र मालपोत कार्यालयका नायब सुब्बा पराजुलीसहितको टोलीले स्थानीयबासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगाइएको छ । जग्गाधनीलाई पत्तो नदिइ जग्गा रजिष्ट्रेसन पास गरेपछि आयोगले नायब सुब्बा पराजुलीसँग स्पष्टीकरण माग गरेको हो ।

कीर्ते कागज गरेर मालपोतका नायब सुब्बा पराजुलीको संलग्नतामा जग्गा रजिष्ट्रेसन पास भएको भन्दै आयोगले उनीसँग स्पष्टीकरण मागेको मालपोत कार्यालय सङ्खुवासभाका प्रमुख चन्द्र मिश्रले जानकारी दिए । अख्तियारले लिखित स्पष्टीकरण मागेपछि कार्यालयले लिखित जबाफ पठाइएको मालपोत प्रमुख मिश्रले बताए ।

मालपोत कर्मचारीसँग बयान लिइँदै
जग्गा ठगी प्रकरणमा मालपोत कर्मचारीसँग बयान लिने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।

मृतक तामाङको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोगमा प्रहरीले वडाध्यक्ष भोटे, सोही वडाका सुरेन्द्र तामाङ, कल्पना भोटे, ङिमा लाजुङ भोटे, खाँदबारी नगरपालिका–१ का हाल मालपोत कार्यालय खाँदबारीमा कार्यरत महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका–४ घर भइ खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपालिकाका पासाङ शेर्पालाई पक्राउ गरेको थियो ।

कीर्ते कागज बनाएर स्थानीय दलबहादु तामाङको २७ रोपनी जग्गा आफन्तको नाममा पास गरेको आरोपमा पक्राउ परेका उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेकालाई ठगी र कीर्ते मुद्दा चलाउने प्रहरीले जनाएको छ । उक्त जग्गा १०६३ मेगावाट क्षमताको अपर अरुण जलविद्युत् आयोजना निर्माण क्षेत्रमा रहेको छ ।

पीडित बिममायाले जग्गा फिर्ता गरिदिन भन्दै जिल्ला प्रशासन कार्यालयमा फागुन २२ मा उजुरी दिएकी थिइन् । लगत्तै प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक छानबिन र अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको थियो ।

याे पनि हेर्नुस्

जग्गा ठगी प्रकरण : भोटखोलाका वडाध्यक्षसहित ७ जना पक्राउ
Share This:
सम्बन्धित खबर
Loading...