काठमाडौँ । सत्तारुढ गठबन्धनले बागमती प्रदेश सरकार सञ्चालनका लागि कार्यदल बनाएको छ ।
मंगलबार बसेको सत्तारुढ गठबन्धन दलको बैठकले नेकपा (माओवादी केन्द्र)का सांसद् युवराज दुलालको संयोजकत्वमा प्रदेश सरकार सञ्चालनमा सहयोग गर्न ६ सदस्यीय कार्यदल बनाएको हो ।
कार्यदलमा माओवादी, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बाट २–२ जना सदस्य छन् । माओवादीबाट संयोजक दुलालसहित बुद्धिमान माझी, कांग्रेसबाट प्रभात तामाङ र राधा घले तथा एकीकृत समाजवादीबाट माधव पौडेल र मिना ज्ञवाली चयन भएका छन् ।
कार्यदलले प्रदेश सरकार सञ्चालनका लागि सहजीकरण गर्ने जनाइएको छ ।
गठबन्धनबीच न्यूनतम साझा कार्यक्रम तयार गर्ने, गठबन्धनबीच सहमति सहकार्य र समझदारी कार्यक्रम कार्यान्वयन गर्ने, प्रभावकारी र भ्रष्टाचार शून्य बनाउने उद्देश्यले समिति गठन गरिएको समितिका सदस्यले जानकारी दिए ।
यसअघि केन्द्रमा सरकार सञ्चालन सहजिकरणका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय समन्वय समिति बनाइएको थियो ।