सिन्धुली सदरमुकाममा निषेधाज्ञा जारी

153

काठमाडौँ । सिन्धुली सदरमुकाममा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले जानकारी दिए ।

सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उद्घाटन गर्ने र त्यहाँ बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रममा कललामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएको थियो । कार्यक्रममा सहभागी हुन पोखरेल मंगलबार नै सिन्धुलीगढी गएका थिए ।

तर, गठबन्धन दलले एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बोलाएको भन्दै विरोध जनाए । गठबन्धन दलका कार्यकर्ताहरुले लोकतान्त्रिक चोकमा रहेको बाल उद्यान पार्कलाई घेरेका थिए भने एमाले कार्यकर्ताहरु पनि ठुलो संख्यामा भेला भएका थिए । अप्रिय घटना हुन नदिन त्यहाँ सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो ।

सहमतिका लागि प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको कार्यकक्षामा बसेको सर्वदलीय बैठकमा पनि सहमति जुट्न सकेन । त्यसपछि जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनार चोक, बसपार्क, ग्वाङ् खोला पुल र हस्पिटल रोड क्षेत्रभित्र आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।

“स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३क) ले दिएको अधिकार प्रयोग गरी २०७८ कात्तिक २४ गते बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा घोषणा गरिएको छ,” जिल्ला प्रशासन सिन्धुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“उक्त समयमा शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि किसिमका सभा, समारोह, बस तथा जुलुस नगर्न÷नगराउन सूचित गरिनछ ।”

Share This:
सम्बन्धित खबर
Loading...