मुख्यमन्त्री शाक्यको आरोप : अध्यादेश ल्याएर राजनीतिक अस्थिरता बढाइयो

317

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी विभाजन गराएका कारण राजनीतिक अस्थिरता बढेको बताएकी छन् ।

बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले निकृष्ट ढंगले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको आरोप लगाएकी हुन् । सोही अध्यादेश अन्तर्गत आफ्नो पार्टी नेकपा (एमाले) विभाजन भएको र एमालेबाटै केही सांसद्हरु अर्को दलमा सहभागी भएको उनको भनाइ थियो ।

उनले संविधानको भावनाअनुसार विश्वासको मत लिन प्रस्ताव पेस गरेको बताइन् । संघीय गणतन्त्रमाथि चौतर्फी आक्रमण भएको भन्दै शाक्यले यसको रक्षामा सबै अग्रसर हुनुपर्ने धारणा राखिन् ।

आफूले प्रदेश सरकारको नेतृत्व लिएको केही घन्टा बित्न नपाउँदै आफ्नै पार्टीका नेता तथा सांसद्हरु अन्य गतिविधिमा लागेको पनि आफूलाई राम्ररी थाहा भएको उनले बताइन् ।

दल विभाजन भएपछि विश्वासको मत लिनुपर्ने संविधानको व्यवस्था अनुसार उनले असोज २४ गते प्रदेशसभामा प्रस्ताव पेस गरेकी थिइन् । दसैँअघि दर्ता भएको प्रस्तावमा आज छलफल भएको हो ।

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक प्रावधान छ । सोही अनुसार विश्वासको मतको प्रस्ताव पेस गरेको शाक्यले बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...