पोखरा । नेकपा (एमाले) विभाजनपछि गण्डकीमा हालका हेभिवेट नेता हुन् कृष्णकुमार श्रेष्ठ (किसान) । उनी यसै हेभिवेट भएका होइनन्, तनहुँ १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेपछि श्रेष्ठ चर्चामा आएका हुन् । त्यो पराजयले अर्को ठुलो सन्देश दियो, उनी कांग्रेसका लागि निकै भारी भए ।
किसान अहिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेका छन् । प्रदेश कमिटी कार्यालय स्थापनापछि पोखरामा भएको भेलालाई सम्बोधन गर्दै उनले आफू एक्लै भए पनि गण्डकीमा एमालेको लागि भारी पर्ने दाबी गरे ।
“१८ निर्वाचन क्षेत्रमा एउटा पनि माधव नेपाल समूहका मान्छेलाई टिकट दिइएन । कसरी बलियो हुन्छ ? स्थानीय र प्रदेश चुनावमा कसैले टिकट पाएनन्, अनि कसरी हुन्छ बलियो ?,” उनले भने, “अब हामी देखाइदिन्छौं, एकीकृत समाजवादी गण्डकीमा के छ भनेर । यो पार्टीमा गण्डकीबाट म मात्रै निर्वाचित सांसद छु । उनीहरू १४ जना छन्, उनीहरूका लागि म एक्लै भारी पर्ने छ ।”
सबैको समस्या आफूहरूले समाधान गर्ने उनको दाबी छ । उनले समाजवादी पार्टी गण्डकीमा बलियो रहेको बताए । “केही दिन अगाडि एमाले अध्यक्ष पोखरामा आएर तामझामका साथ कार्यक्रम गरेर जानुभयो । त्यो कार्यक्रममा गण्डकीका सबै जिल्लाबाट कति उपस्थित थिए ?,” उनी भन्छन्, “आज कास्कीको मात्रै नेता कार्यकर्ता भेला हुँदा हेर्नुस् त कति छन् । आजदेखि समाजवादीले बिगुल फुक्यो ।”
आफू बिसौँ वर्ष ओली गुटमा रहेकोमा अहिले आएर पश्चाताप लागेको उनले सुनाए । “बिसौँ वर्ष उता लागें । दुईपटकसम्म संसद् विघटन गर्दा पनि साथ दिइरहें,” श्रेष्ठ भने, “असारमा आएपछि मैले गल्ती गरेको रहेछु भन्ने महसुस भयो । त्यसैले शेरबहादुर देउवालाई विश्वासको मत दिएँ । संविधानको पक्षमा उभिएँ ।”