काठमाडौं । कोरोना महामारीविरुद्ध सरकारले अन्तर्राष्ट्रिय साथ खोजिरहेको बेला राष्ट्र प्रमुखको समेत सक्रियता बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार एकैदिन दुई छिमेकी मुलुकका समकक्षीसँग खोप उपलब्ध गराउन लिखित र मौखिक आग्रह गरेकी छन् ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच करिब पौने एक घन्टा टेलिफोन संवाद भएको छ । कोभिड महामरीको १ वर्षको बीचमा नेपाल र चीनका राष्ट्रपतिबीच यो दोस्रो टेलिफोन संवाद हो ।
दुई राष्ट प्रमुखबीच भएको उक्त संवादमा राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन चिनियाँ राष्ट्रपतिलाई विशेष आग्रह गरेको राष्ट्रपति कार्यलयका एक अधिकारीले बताए ।
जबाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल र चीनको अभिन्न मित्र रहेको भन्दै नेपाललाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताएका छन् ।
दुई मुलुकबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै राष्ट्रपति भण्डारीले नेपाललाई खोप उपलब्ध गराउने चिनियाँ तदारुकताको आपेक्षासमेत व्यक्त गरेको बताइएको छ ।
चीनले नेपाललाई सिनोपार्मले उत्पादन गरेको‘भेरोसेल’ खोपको ८ लाख डोज अनुदानमा दिएको थियो ।
राष्ट्रपति भण्डारीले आजै भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्राचार गर्दै कोभिड–१९ खोपको आपूर्तिका लागि पहल गर्न आग्रह गरेकी थिइन् ।