काउन्टरकै कर्मचारीबाट यात्रु ठगी, आज मात्रै ४ जना पक्राउ

937

काठमाडौं । निषेधाज्ञा घोषणा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउन्टरका कर्मचारी र बुकिङ स्टाफलाई पक्राउ गरेको छ ।

उपत्यका बाहिरका जिल्लाहरु जाने यात्रुहरुलाई काउन्टरका कर्मचारीहरुले ६ गुणा बढीसम्म भाडा लिई ठगी गर्ने ४ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताए ।

ट्राफिक प्रहरीले काठमाडौंको ढुङ्गेधाराबाट बझाङ्ग जयपृथ्बी नगरपालिका–८ का २४ वर्षीय योगेन्द्र बोहोरा र ३० वर्षीय आकाश विष्टलाई पक्राउ गरेको हो ।

उनीहरुले ना८ख८४९४ नम्बरको शुभ बिहानी यातायातमार्फत् धनगढी जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएका थिए ।

त्यसैगरी, थाहा नगरपालिका–३ हेटौंडा घर भई बालाजु बस्ने ३२ वर्षीय अमृत विष्ट र गोर्खा घर भई मित्रनगर बस्ने ४५ वर्षीय सोम बहादुर गुरुङलाई नयाँ बसपार्कबाट पक्राउ गरेको हो । उनीहरुले धनगढी जाने यात्रुसँग प्रति व्यक्ति ४ हजारदेखि ४ हजार ५ सयसम्म लिने गरेको महाशाखाले जनाएको छ ।

पक्राउ परेका चार जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा बुझाएको महाशाखाले जनाएको छ ।

महाशाखाले अत्यावश्यक परी यात्रा गर्नुपरेमा टिकट काटेर मात्र यात्रा गर्न र तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...