म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

11

म्याग्दी, ५ कात्तिक । बेनी नगरपालिका–३ मुसुङ गाउँमा परीक्षणका रुपमा लगाइएको अलैँची खेती सफल भएको छ । परीक्षणका लागि तीन वर्षअघि गरिएको अलैँची खेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो ।

बेनी नगरपालिका–३ का वडाअध्यक्ष पदम पुनले चारखोलाको ओसेपिलो उत्तिसको जङ्गलभित्र लगाएको अलैँचीले राम्रो उत्पादन दिन थालेपछि अन्य किसानहरुले पनि विस्तार गर्न थालेका जानकारी दिनुभयो ।

अध्यक्ष पुनका अनुसार अनुकूल हावापानी, भूगोल, बजार र उचित मूल्य पाइने भएपछि बाँझिएको ओसिलो जमिनमा झाडी फाँडेर २० रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा अलैँची लगाएको हो । यस ठाउँमा ५० वर्षअघि पहिरोले खेतीयोग्य जमिन मासिएपछि पछिल्लो समय झाडीमा परिणत भएको थियो ।

पूर्वी नेपालको कोसी प्रदेशको पहाडी जिल्लामा खेती हुँदै आएको अलैँचीलाई ‘कालो सुन’ भन्ने गरिन्छ । कृषि प्राविधिकका अनुसार समुद्री सतहबाट ८०० देखि एक हजार ८०० मिटर उचाइको ओसिलो ठाउँमा अलैँचीखेती राम्रो हुन्छ ।

वार्षिक दुई हजारदेखि दुई हजार ५०० मिलिलिटर वर्षा हुने ठाउँमा अलैँची खेती उपयुक्त मानिन्छ । अलैँची खेतीका लागि शीतोष्ण आद्रता भएको जलवायु चाहिन्छ । बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढङ्गानाका अनुसार नेपालमा रामशाही, गोलशाही र डम्मर शाही जातको अलैँची खेती हुने गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...