आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

9

काठमाडौँ, ५ कात्तिक । आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म प्रतियोगिता नेपालमा आयोजना हुने जानकारी दिएको हो ।

प्रतियोगितामा आइसिसी विश्वकप लिग–२ का अन्तिम चार टोली तथा आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी आठवटा टोली सहभागी हुने छन् ।

प्रतियोगिताको शीर्ष चारमा स्थान हासिल गर्ने टोली सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुने छन् । नेपालसामु लगातार दोस्रोपटक एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने अवसर छ ।

यसैबिच, प्रतियोगिता नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बिचको क्रिकेट शृङ्खला पूर्वनिर्धारित तालिकामा नहुने भएको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) र क्यानबिचको आपसी समन्वय तथा सहमतिमा नेपाल र भारत ‘ए’ बिचको नयाँ खेल तालिका तय गरिने क्यानका सचिव पारस खड्काले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...