काङ्ग्रेस महामन्त्री उम्मेदवारी दिएकी डा.सङ्ग्रौलाले अघि सारिन् पाँच सूत्रीय प्रतिज्ञापत्र

14

काठमाडौँ, २० असोज । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनमा निवर्तमान सहमहामन्त्री तथा नेपाल महिला सङ्घकी पूर्वअध्यक्ष डा.डिला सङ्ग्रौला पन्तले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेपाली काङ्ग्रेसको निर्वाचनसमितिले तोकेको स्थान राष्ट्रियसभा गृहमा पुगेर उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

उम्मेदवारी दर्तापश्चात् उहाँले पार्टीको वैचारिक, साङ्गठनिक र नीतिगत रूपान्तरणका लागि आफ्नो विस्तृत प्रतिज्ञापत्र सार्वजनिक पनि गर्नुभएको छ ।

काङ्ग्रेसको गौरवशाली इतिहास, लोकतान्त्रिक मूल्यमान्यता र बिपी कोइरालाको सिद्धान्तलाई आत्मसात गर्दै पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउने अठोट उहाँले व्यक्त गर्नुभयो ।

सार्वजनिक प्रतिज्ञापत्रमा डा.सङ्ग्रौलाले मुख्य पाँच कारणसहित आफ्नो उम्मेदवारीको औचित्य प्रस्तुत गर्नुभएको छ । विद्यार्थी राजनीति, महिला सङ्घको कुशल नेतृत्व, संविधानसभा सदस्य तथा केन्द्रीय सहमहामन्त्रीको अनुभवलाई पार्टीको मुख्य कार्यकारी भूमिकामा उपयोग गर्ने उहाँले बताउनुभएको छ ।

काङ्ग्रेसलाई परम्परागत ढर्राबाट मुक्त गर्दै पारदर्शी र प्रविधिमैत्री ‘डिजिटल काङ्ग्रेस’ बनाउने, पार्टीभित्रका गुट, उपगुटको अन्त्य गरी योग्यता र योगदानका आधारमा अवसरको न्यायोचित वितरण गर्ने, र पार्टीलाई सदन तथा सडक दुवै माध्यमबाट जनताका दैनिक समस्या, महङ्गी, बेरोजगारी र भ्रष्टाचारविरुद्ध खरो उत्रिने सङ्गठन बनाउने प्रतिबद्धता उहाँले जनाउनुभएको छ ।

प्रतिज्ञापत्रमार्फत डा.सङ्ग्रौलाले महामन्त्री पदका लागि सुदृढ, प्रविधिमैत्री र गतिशील सङ्गठन निर्माण गर्ने पाँच सूत्रीय सङ्कल्प अघि सार्नुभएको छ ।

जसमा क्रियाशील सदस्यता प्रणालीलाई पूर्ण पारदर्शी र डिजिटल बनाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गरी सुशासन अभिवृद्धि गर्ने र युवाहरूलाई स्वदेशमै रोजगारी एवम् उद्यमशीलतासँग जोड्ने नीति समावेश छन्।

साथै, पार्टीका निर्णयक तहमा ३३ प्रतिशतदेखि ५० प्रतिशतसम्म महिलाको अर्थपूर्ण उपस्थिति गराउने, बिपीको समाजवादलाई समसामयिक व्याख्या गरी नयाँ आर्थिक ढाँचा कार्यान्वयन गर्ने र मूल्याङ्कनका आधारमा निष्ठावान् कार्यकर्तालाई जिम्मेवारी दिने परिपाटी बसाल्ने अठोट पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले नेपालको समृद्धिमा प्रवासी नेपालीहरुको योगदानको कदर गर्दै ‘एक पटकको नेपाली सधैँको नेपाली’ कार्यान्वयन तर्फ काङ्ग्रेसले पहल गर्ने पनि जनाउनुभयो।

उहाँले विशेष महाधिवेशन र त्योभन्दा अगाडिदेखि नै आफूले काङ्ग्रेस पार्टीभित्र सुधार र रुपान्तरणका लागि आवाज उठाउँदै आएको स्मरण गर्दै महामन्त्रीको पदमा आफुलाई विजयी बनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई हार्दिक अपिल पनि गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...