इनरुवामा काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, चालक र सहचालक पक्राउ

9
  • अजितकुमार झा

इनरुवा, १९ असोज । सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीबाट ठुलो परिणाममा गाजा बरामद भएको छ ।

तरकारी (सब्जी)को आवरणमा ठुलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

काउली बोकेको ट्रकमा लुकाएर लैजाँदै गरिएको अन्दाजी २ हजार ५६६ किलो गाँजासहित चालक र सहचालक पक्राउ परेका हुन् ।

चेकजाँचका क्रममा ना ७ ख १८२५ नम्बरको ट्रकबाट ८३ बोरा गाँजा फेला परेको हो । ट्रक रोकेर जाँच गर्दा काउलीको बिचमा लुकाइएको गाँजा भेटिएको सुनसरी प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रक धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राईले चलाएका थिए । प्रहरीले चालक राईसँगै सोही ठाउँका १८ वर्षीय सहचालक सदीप राईलाई पक्राउ गरेको छ ।

तरकारी ढुवानीको सामान्य आवरणमा गाँजा ओसारपसार भइरहेको भेटिएपछि प्रहरीले ट्रकसमेत नियन्त्रणमा लिएको छ । बरामद गाँजा, ट्रक र पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक ओलीले बताउनुभयो।

प्रहरीले दुवै जनाविरुद्ध लागु औषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ पुर्‍याउने योजना थियो भन्ने खुलेको छैन ।

धनकुटालगायत पहाडी जिल्लामा उत्पादन हुने गाँजा तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजान खोजिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि, यसको वास्तविकता र कारोबारमा संलग्न अन्य व्यक्तिका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।–नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...