म्याग्दी, २७ साउन । रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड ५० लाख रूपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ ।
तीनतले सभाहलसहित नौकोठे भूकम्पप्रतिरोधी क्षमताको भवन निर्माण भएको हो । रघुगङ्गा गाउँपालिका–१ का वडाध्यक्ष बिलप्रसाद फगामीले आर्थिक वर्ष २०८०/८१ देखि सुरु भएको भवन निर्माण योजनालाई आव २०८२/८३ मा पूर्णता दिइएको बताउनुभयो । “आव २०८०/८१ मा ५० लाख रूपैयाँ र २०८१/८२ मा ५५ लाख रूपैयाँ बजेट विनियोजन भएको वडा कार्यालय भवन योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको हो”, उहाँले भन्नुभयो, “गत आवमा विनियोजन भएको बजेटबाट २७ लाख ७१ हजार रूपैयाँमा ठेक्कामार्फत तला थप गरेर सभाहल बनाएर भवनलाई पूर्णता दिइएको हो ।”
नयाँ आर्थिकदेखि भवनको भुइँतलामा स्वास्थ्यचौकी र पहिलो तलामा वडा कार्यालयको सेवा सञ्चालन गरेको वडाध्यक्ष फगामीले बताउनुुभयो । साविक बेग गाविसको नाममा रहेका दुई रोपनी र स्थानीय हितमान फगामीले दान गर्नुभएको दुई आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण भएको वडाध्यक्ष फगामीले बताउनुभयो ।
यसअघि बेग स्वास्थ्यचौकीको कच्ची भवनको साँघुरो कोठाबाट वडा कार्यालय सञ्चालन भएको थियो । स्थानीयवासीले छ लाख रूपैयाँ चन्दा सङ्कलन गरेर भवन परिसरमा सवारी पार्किङ र घेराबार गरेका छन् ।
आफ्नै सुविधायुक्त भवनबाट सेवा प्रवाह गर्न सहज भएको वडाध्यक्ष फगामीले बताउनुभयो । नयाँ भवनमा वडाध्यक्ष, सचिव, सदस्यहरू, प्रशासन, बैठककक्ष, भण्डारणकक्ष छन् । आठवटा वडा रहेको रघुगङ्गाको यसअघि रघुगङ्गा–५ झिँ, रघुगङ्गा–२ भगवती, रघुगङ्गा–६ पाखापानीको कार्यालय भवन निर्माण भएको थियो ।
रघुगङ्गा–३ पिप्ले, रघुगङ्गा–४ दग्नाम र रघुगङ्गा–८ कुइनेमङ्गलेको वडा कार्यालय पुराना भवनबाट सञ्चालन भएको छ । मौवाफाँटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन रहेको छ । नयाँ आर्थिक वर्षमा दग्नाममा ४ नम्बर वडाको कार्यालय भवन निर्माण गरिने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।