कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरिनेछ : मन्त्री चौधरी

14

काठमाडौँ, २७ साउन । कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले युवाको सहभागिता विस्तारमार्फत नवीन सोच, ऊर्जा र केही गरौँ भन्ने भावनालाई राष्ट्रको समृद्धिमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री चौधरीले युवा वर्गले कृषि क्षेत्रको विकासमा नवीन दृष्टिकोण, वन तथा वातावरण जगेर्नाका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो ।

देश विकासमा बलियो जनशक्ति युवा भएको बताउँदै उहाँले युवा सशक्तीकरणलाई प्रभावकारी बनाउन ग्रामीण क्षेत्रलाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय युवा दिवसको यस वर्षको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००० देखि १२ अगस्टमा दिवस मनाउने गरिँदै आएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा युवा केन्द्रित नीति निर्माण तथा समाजमा युवा सहभागिता बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...