हराएका तीन युवक सकुशल

0

गण्डकी, २१ साउन । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ बादलडाँडा नजिकको जङ्गलबाट सम्पर्कविहीन तीन युवकलाई सकुशल फेला पारिएको छ ।

पोखरा महानगरपालिका–१४ खसीबजारका अजित जिसी, युकेश गुरुङ र करण लामा आज बिहान अन्नपूर्ण गाउँपालिका–११ छुमरुङवेशीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले भन्नुभयो,“तीनै जना युवक सकुशल भेटिनुभएको छ, उद्धार भइरहेको छ ।”

बुधबार बिहान ८ बजेदेखि उहाँहरुको मोबाइल बन्द भएपछि घरपरिवारले खोजीका लागि प्रहरी समक्ष अनुरोध गर्नुभएको थियो ।

जङ्गलमा बाटो बिराएर अलपत्र परेपछि उहाँहरुको खोजीमा नेपाली सेना, सशत्र प्रहरी बल, जनपद प्रहरी परिचालन गरिएको थियो ।

उहाँहरुलाई मोदी खोलाको पारिपट्टि छुमरुङवेशीमा भेटिएको घान्द्रुक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...