अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

2

काठमाडौँ, ८ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग–व्यवसायमा आबद्ध नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ र नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिहरूलाई आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफलका लागि बोलाउनुभएको थियो ।

उक्त छलफलमा नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङले नेपाली गलैँचाको मुख्य बजार अमेरिका र युरोप भए पनि अमेरिकाको नयाँ निमयले निर्यातमा कठिनाइ भएको र व्यवसायीहरू मारमा परेको गुनासो गर्नुभयो । उहाँका अनुसार अमेरिकाले यही जुलाई ८ देखि ‘कन्जुमर प्रोडक्ट सेफ्टी कमिसन’ को प्रमाणीकरण अनिवार्य गरेकोमा नेपालमा त्यसको सुविधा नहुँदा निर्यात रोकिएको, नापतौल विभागको ल्याब पनि जेनजी आन्दोलनमा चलेको छ । त्यसैले अर्को व्यवस्था नभएसम्म एक वर्षको लागि उक्त परीक्षण छुट (ग्रेस पिरेड) पाउन परराष्ट्र मन्त्रालयमार्फत अमेरिकाको भन्सार विभागलाई कूटनीतिक नोट पठाइदिन उहाँले माग गर्नुभएको थियो । प्रधानमन्त्री शाहले तत्कालै उहाँको माग कार्यान्वयनका निम्ति उक्त मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

गलैँचा उत्पादनका लागि बाहिरबाट आउने कच्चापदार्थ ऊनको ‘क्वरेन्टिन सर्टिफिकेसन’ बेलैमा गरिदिन गुरुङले प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो । अहिले महिनामा तीनपटक मात्र सर्टिफिकेसनको काम हुँदा व्यवसायीलाई समस्या हुने गरेको उहाँको भनाइ थियो । प्रधानमन्त्री शाहले तुरुन्तै ‘क्वरेन्टिन सर्टिफिकेसन’ को काम हप्ताको दुई दिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

गुरुङले उद्योग मन्त्रालय मातहतमै रहने गरी गलैँचा विकास बोर्ड गठनको माग गर्नुभएकामा प्रधानमन्त्री शाह त्यसमा सकारात्मक हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री शाहले कर्णाली र सुदूरपश्चिममा भेडापालन गरेर मासु र ऊन उत्पादन लगायतमा जोड दिन सरकारले भूमिका खेल्ने बताउनुभयो ।

नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेले नेपाली प्लाइउडको गुणस्तर अन्य देशबाट आउनेभन्दा राम्रो भए पनि विद्यमान केही कानुनी प्रावधानले यस क्षेत्रका उद्यमीले समस्या भोगिरहेको गुनासो गर्नुभयो । उहाँका अनुसार नेपालमा ८५ वटा प्लाइउड उद्योगले रु चार हजार करोड लगानी गरेका छन् तर प्लाइउडको लागि आवश्यक पर्ने कच्चापदार्थ (भेनियर) नेपालबाट निकै सस्तो भन्सार दरमा भारत निकासी भइरहेको छ । प्रधानमन्त्री शाहले त्यसको भन्सार शुल्क बढाएर कच्चापदार्थ निर्यातमा निरुत्साहन गर्न सरकार जुटेको बताउनुभयो ।

नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले हिमाली भेगमा पर्याप्त मात्रामा चरन क्षेत्र भए पनि वन ऐनका कारण उक्त चरन क्षेत्रमा भेडापालन गर्न समस्या भइरहेको गुनासो गर्नुभएकामा प्रधानमन्त्री शाहले आवश्यक छलफल गरी ऐन परिमार्जन गरिने आश्वासन दिनुभयो । लामिछानेले स्थानीय तहमै पश्मिनाका लागि आवश्यक ऊन र प्राकृतिक रेशाहरू सङ्कलन केन्द्र र प्रदेशमा त्यसको प्रशोधन केन्द्र खोल्नुपर्ने माग राख्नुभएकोमा प्रधानमन्त्री शाहले त्यसका लागि पनि सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभयो ।

नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेलले नेपालमा केही कानुनी अड्चनले गर्दा आफूहरूले भने जस्तो उत्पादन र निर्यात गर्न नसकेको गुनासो गर्नुभयो । डग च्यूलाई डेरी उत्पादनमै राखेकोमा ‘पेट फुड’ उद्योगको रूपमा राख्नुपर्ने र यस्ता उद्योगलाई ‘स्किम्पड मिल्क पाउडर’ आयात गर्न सहज गरिदिनुपर्ने उहाँको मागबारे अध्ययन गरेर उपयुक्त लागे सम्बोधन गरिने प्रधानमन्त्री शाहले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...