- प्रमिला कार्की
काठमाडौँ, ८ साउन । नेपालमा कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) सेवा सुरु भएको एक दशक बितिसक्दा पनि अपेक्षाअनुसार विस्तार हुन सकेको छैन ।
नेपाल न्युज बैङ्कसँगको कुराकानीमा केएमसी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा.सागर पौडेलले कलेजो प्रत्यारोपणका लागि जनशक्ति अभाव, सीमित जनचेतना र सरकारी आर्थिक सहयोगको कमी मुख्य चुनौती भएको बताउनुभयो ।
डा.पौडेलका अनुसार नेपालमा सन् २०१६ देखि कलेजो प्रत्यारोपण सेवा सुरु भएको हो । हालसम्म करिब एकसय वटा मात्रै प्रत्यारोपण भएको उल्लेख गर्दै उहाँले यो प्रगति निकै सुस्त रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा कलेजो प्रत्यारोपण सुरु भएको १० वर्ष भयो । यो अवधिमा करिब एकसय वटा प्रत्यारोपण मात्रै भएका छन् । यो सङ्ख्या निकै कम हो । सुरुमा मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरबाट सेवा सुरु भयो । त्यसपछि त्रिवि शिक्षण अस्पताल, चितवन मेडिकल कलेज, किस्ट मेडिकल कलेज, केएमसी र नेपाल मेडिसिटी अस्पतालमा पनि सेवा विस्तार भएको छ । अस्पताल थपिए पनि प्रत्यारोपणको गति अझै सुस्त छ ।”
उहाँका अनुसार कलेजो पूर्ण रूपमा बिग्रिएपछि त्यसलाई हटाएर नयाँ कलेजो प्रत्यारोपण गर्ने प्रक्रियालाई लिभर ट्रान्सप्लान्ट भनिन्छ। प्रायः लिभर सिरोसिस भएका बिरामीलाई कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था आउने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “लिभर सिरोसिसमा कलेजोका कोषहरूमा जालो परेर कलेजो बिस्तारै कडा र खुम्चिँदै जान्छ । समयमै उपचार नभए कलेजो पूर्ण रूपमा बिग्रिन्छ । त्यस्ता बिरामीलाई जीवित व्यक्तिको कलेजोको केही भाग वा मृत व्यक्तिको कलेजो प्रत्यारोपण गरेर नयाँ जीवन दिन सकिन्छ ।”
उहाँले सेवा विस्तारका लागि दक्ष जनशक्ति उत्पादन, विदेशमा तालिम, जनचेतना अभिवृद्धि तथा सरकारी सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कलेजो प्रत्यारोपणलाई अझ प्रभावकारी बनाउन सरकारले पर्याप्त जनशक्ति उत्पादन गर्नुपर्छ, चिकित्सकलाई तालिमका लागि विदेश पठाउनुपर्छ र जनचेतना बढाउनुपर्छ । धेरै बिरामीले प्रत्यारोपणबाट नयाँ जीवन पाउन सकिन्छ भन्ने जानकारी नै पाएका छैनन् । सूचना र जनचेतना विस्तार गर्न सके प्रत्यारोपण सेवाको पहुँच पनि बढ्छ ।”
डा.पौडेलले लिभर फेलर भनेको कलेजोले काम गर्न छाडेको अवस्था भएको स्पष्ट गर्दै यसको प्रमुख कारण सिरोसिस रहेको बताउनुभयो । केही अवस्थामा औषधि, विषादी, विषाक्त पदार्थ, हेपाटाइटिस ‘ए’ र ‘ई’ वा गलत औषधि प्रयोगका कारण पनि एक्कासी कलेजो फेल हुन सक्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “क्रोनिक लिभर फेलर प्रायः सिरोसिसका कारण हुन्छ भने एक्युट लिभर फेलर औषधिको असर, विषादी, विषाक्त पदार्थ वा हेपाटाइटिस सङ्क्रमणका कारण अचानक हुन सक्छ । यस्ता अवस्थामा औषधिले सहयोग मात्र गर्छ, अन्तिम उपचार भनेको कलेजो प्रत्यारोपण नै हो ।”
प्रत्यारोपणपछि शरीरले नयाँ कलेजोलाई अस्वीकार गर्न सक्ने भएकाले बिरामीले जीवनभर इम्युनोसप्रेसन्ट औषधि सेवन गर्नुपर्ने उहाँले बताउनुभयो ।
जीवित र मृत दुवै व्यक्तिबाट कलेजो प्रत्यारोपण गर्न सकिने उल्लेख गर्दै उहाँले नेपालमा कानुनी रूपमा नाता प्रमाणित भएका व्यक्तिले आफ्नो कलेजोको केही भाग दान गर्न सक्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “जीवित व्यक्तिले आफ्नो कलेजोको ५० देखि ६० प्रतिशतसम्म भाग सुरक्षित रूपमा दान गर्न सक्छन् । त्यसका लागि रक्तसमूह मिल्नुपर्छ र नेपाल सरकारको कानुनी प्रक्रिया पूरा हुनुपर्छ । मृत व्यक्तिबाट पनि समयमै कलेजो निकालेर प्रत्यारोपण गर्न सकिन्छ, जसलाई डीसिज्ड डोनर लिभर ट्रान्सप्लान्ट भनिन्छ ।”
विश्वव्यापी रूपमा कलेजो प्रत्यारोपणको एक वर्षको सफलता दर ९० देखि ९२ प्रतिशत रहेको र नेपालमा पनि ८५ प्रतिशतभन्दा बढी सफलता रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार अहिले पनि नेपालमा दक्ष जनशक्ति अभावका कारण कतिपय प्रत्यारोपणमा विदेशबाट विशेषज्ञ टोलीको सहयोग लिनुपर्ने अवस्था छ ।
उहाँले भन्नुभयो, “हामीसँग अझै पर्याप्त ट्रान्सप्लान्ट टिम छैन । कतिपय अवस्थामा भारतलगायतबाट विशेषज्ञ टोली बोलाउनुपर्ने हुन्छ । सरकारले जनशक्ति विकास, प्राविधिक सहयोग र आर्थिक सहुलियतमा लगानी गरे प्रत्यारोपण सेवा धेरै विस्तार गर्न सकिन्छ ।”
केएमसी अस्पतालमा हालसम्म छ वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै उहाँले अस्पतालमा आवश्यक उपकरण र पूर्वाधार तयार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीसँग प्रत्यारोपणका लागि आवश्यक सबै उपकरण छन् । हप्तामा एउटा कलेजो प्रत्यारोपण गर्न सक्ने क्षमता छ । एउटा प्रत्यारोपणमा औसत ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च हुन्छ । सरकारले यसमा कुनै आर्थिक सहयोग गर्दैन। बिरामीले आफ्नै खर्चमा उपचार गर्नुपर्छ। यद्यपि, हाम्रो अस्पतालका अध्यक्ष डा। सुनिल शर्माको पहलमा अन्य अस्पतालको तुलनामा केही सहुलियत दिने प्रयास गरेका छौँ ।”
डा.पौडेलले कलेजो शरीरको अत्यन्त महत्त्वपूर्ण अङ्ग भएकाले यसलाई स्वस्थ राख्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो । “कलेजोले खाना पचाउने, औषधि प्रशोधन गर्ने, पित्त बनाउने, प्रोटिन सञ्चय गर्ने, शरीरको ऊर्जा व्यवस्थापन गर्ने जस्ता महत्त्वपूर्ण काम गर्छ। त्यसैले कलेजो स्वस्थ राख्नु अत्यन्त आवश्यक छ,” उहाँले भन्नुभयो ।
कलेजो रोगबाट बच्न समयमै हेपाटाइटिस ‘बी’ र ‘सी’ को परीक्षण, हेपाटाइटिस ‘ए’ र ‘बी’ विरुद्धको खोप, स्वस्थ आहार, नियमित व्यायाम, तौल नियन्त्रण, मधुमेह र कोलेस्ट्रोल नियन्त्रण तथा मदिरापान पूर्ण रूपमा त्याग्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “अहिले अत्यधिक मोटोपना, मधुमेह र मदिरापानका कारण कलेजो रोग बढिरहेको छ । समयमै परीक्षण गर्ने, स्वस्थ जीवनशैली अपनाउने, हेपाटाइटिसविरुद्ध खोप लगाउने र रक्सी सेवन बन्द गर्ने हो भने लिभर सिरोसिस, लिभर फेलर र कलेजोको क्यान्सरबाट धेरै हदसम्म बच्न सकिन्छ ।” –नेपाल न्युज बैङ्क