बझाङ जिप दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसद महरको माग

11

काठमाडौँ, ३० असार । नेकपा (एमाले)का सांसद ऐन बहादुर महरले बझाङको जिप दुर्घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले गत असार २७ गते बझाङको बुङ्गल नगरपालिकाबाट केदारस्युँ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो जिप दुर्गाथली गाउँपालिका–६ को सुङुरेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जानकारी गराउनुभयो ।

उहाँका अनुसार दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का चक्र बहादुर महत, कुटुरीदेवी महत र केदारस्युँ गाउँपालिका–७ की इमला महत धामीको मृत्यु भएको हो ।

सांसद महरले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो । उहाँले दुर्घटनामा करिब १२ जना घाइते भएको र तीमध्ये ८ जना गम्भीर अवस्थामा रहेको बताउनुभयो ।

दुर्गम क्षेत्र भएकाले घाइतेलाई सडकमार्गबाट उद्धार गर्न लामो समय लाग्ने अवस्था रहेकाले सरकारले हेलिकोप्टरमार्फत उद्धार गरेको भन्दै उहाँले सरकारलाई धन्यवाद दिनुभयो ।

“नेपाल सरकारले तत्काल हेलिकोप्टरको व्यवस्था गरेर घाइतेको उद्धार गर्न सहयोग गर्‍यो । त्यसका लागि नेपाल सरकार, भौतिक पूर्वाधार मन्त्रालय र गृह मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु,” उहाँले भन्नुभयो ।

उहाँले अहिले केही घाइतेको काठमाडौँस्थित ट्रमा अस्पताल र केहीको नेपालगञ्जमा उपचार भइरहेको जानकारी दिँदै उनीहरूको सम्पूर्ण उपचार निःशुल्क गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...