काठमाडौँ, ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले नागरिकको जीवनभन्दा ठुलो कुनै नियम, सत्ता वा पद हुन नसक्ने बताउनुभएको छ ।
मङ्गलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले कानुन सबैका लागि समान रूपमा लागु हुनुपर्ने भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनुभयो ।
सांसद शाहीले विगतमा ‘सिंहदरबारभन्दा मान्छेको जीवन ठुलो’ भन्नेहरू अहिले ‘मान्छेको जीवनभन्दा नियम ठुलो भन्दै हिँडेको आरोप लगाउनुभयो । उहाँले कुनै नागरिकको जीवन समाप्त हुने अवस्था सिर्जना गर्नु पनि अपराध भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मान्छेको हत्या केवल गोली हानेर मात्र हुँदैन । कुनै नागरिकको बाँच्ने आधार खोसेर, रोजीरोटी बन्द गरेर, निराशा र पीडाको अवस्थामा पुर्याउनु कि ऊ आत्महत्या गर्न बाध्य होस्, त्यो पनि गोली हानेसरहको अपराध हो ।”
उहाँले सडकमा जथाभावी पार्किङ गर्न पाउनुपर्ने माग आफूहरूले नगरेको स्पष्ट पार्दै भ्रामक प्रचार बन्द गर्न आग्रह गर्नुभयो ।
ट्राफिक नियम उल्लङ्घनमा सर्वसाधारणलाई कारबाही हुने तर सिटबेल्ट नलगाइ सवारी चलाउने उच्च पदस्थ व्यक्तिहरूमाथि कारबाही किन नहुने भन्दै उहाँले प्रश्न गर्नुभयो ।
सांसद शाहीले जलनबाट पीडित गणेश नेपालीलाई अस्पताल लैजाने क्रममा अपनाइएको प्रक्रियामाथि प्रश्न उठाउनुभयो । उनले गम्भीर जलन भएका बिरामीलाई एम्बुलेन्समार्फत उपचारस्थल पुर्याउनुपर्नेमा अपराधी जस्तो हिँडाएर लगिएको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले समयमै उचित उपचार उपलब्ध गराइएको थियो वा थिएन, भारतमा उपचारका लागि लैजान सकिने अवस्था थियो वा थिएन भन्ने विषयमा राज्यले जवाफ दिनुपर्ने बताउनुभयो ।
मृत्यु भइसकेको अवस्थामा विमानस्थलमा गरिएको गतिविधिबारे पनि छानबिन हुनुपर्ने उहाँको माग थियो ।