काठमाडौँ, ३० असार । नेपाली काङ्ग्रेसका सांसद निश्कल राईले वर्तमान सरकारमाथि निरङ्कुश बन्दै गएको आरोप लगाउनुभएको छ ।
मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सरकारलाई नागरिकको प्रश्न सुन्न र संविधानको सीमाभित्र रहेर काम गर्न आग्रह गर्नुभयो ।
सांसद राईले भागवत पुराणको हिरण्यकश्यप र प्रह्लादको प्रसङ्ग उल्लेख गर्दै प्रश्न गर्ने अधिकारमाथि रोक लगाउने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक भएको बताउनुभयो । उहाँले प्रश्न गर्नु अपराध ठान्ने शासन व्यवस्था अन्ततः पतन हुने दाबी गर्नुभयो ।
“हिरण्यकश्यप आफूलाई सर्वशक्तिमान् ठान्थे । उनको राज्यमा उनीबाहेक अरू कसैलाई ईश्वर मान्न पाइँदैनथ्यो । जब छोरा प्रह्लादले प्रश्न गरे, सत्य बोले, त्यो नै अपराध ठहरियो,” उहाँले भन्नुभयो ।
उहाँले सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भएको युवा आन्दोलन स्मरण गर्दै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेका युवामाथि अहिले नै प्रश्न गर्न रोक लगाउने प्रयास भइरहेको आरोप लगाउनुभयो ।
“जुन युवाले प्रश्न सोध्ने अधिकार माग्यो, आज त्यही युवालाई प्रश्न गर्नबाट वञ्चित गरिएको छ,” राईले भन्नुभयो ।
सांसद राईले मुगुका २५ वर्षीय राइड–सेयरिङ चालक गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारले आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयो । नगर प्रहरीसँगको विवादपछि नेपालीले काठमाडौँको सडकमा आत्मदाह गरेको घटनापछि सरकारमाथि प्रश्न उठ्नु स्वाभाविक भएको उहाँको भनाइ थियो ।
उहाँले घटनाबारे प्रश्न उठाउने प्रतिपक्ष, सञ्चारमाध्यम र नागरिक समाजमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाउनुभयो । “एउटा नागरिकले ज्यान गुमाउँदा सरकारले आत्मसमीक्षा गर्नुपर्ने थियो । तर, प्रश्न सोध्ने हिम्मत कहाँबाट आयो भन्ने शैलीमा प्रश्न उठाउनेमाथि प्रतिशोध साध्ने काम भयो,” उहाँले भन्नुभयो ।
उहाँले गृहमन्त्रीले संसद्मा जवाफ दिने क्रममा भावनात्मक हुँदै सांसदहरूमाथि धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसप्रति आपत्ति जनाउनुभयो ।
सांसद राईले १८२ सिटको बहुमतले सरकारलाई संविधान उल्लङ्घन गर्ने अधिकार नदिने बताउनुभयो । बहुमत जनताको प्रतिनिधित्वका लागि भएको भन्दै त्यसले नागरिकको अधिकार कुल्चन नसक्ने उहाँको भनाइ थियो ।
“बहुमतले संविधानभन्दा माथि जाने अधिकार दिँदैन । प्रश्न सोध्ने नागरिकको मुख थुन्ने ठेक्का बहुमतले दिएको छैन,” उहाँले भन्नुभयो ।
उहाँले राज्यका संरचनाहरू सत्तारूढ दलको प्रभावमा पर्दै गएको आरोपसमेत लगाउनुभयो । प्रहरी प्रशासन अनौपचारिक शक्तिको निर्देशनमा चल्न थाले राज्य र सत्ताबिचको सीमाना मेटिने उहाँको भनाइ थियो ।
सांसद राईले सरकारलाई निरङ्कुशताको बाटो छाडेर नागरिक केन्द्रित भएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले आफू किसान परिवारबाट आएको र लोकतान्त्रिक मूल्य तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिएको बताउनुभयो ।