गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद महर

1

काठमाडौँ, २६ असार । नेकपा (एमाले)का सांसद ऐन बहादुर महरले गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारको कडा आलोचना गर्नुभएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले आफू वीर अस्पतालबाट प्रत्यक्ष अवस्था अवलोकन गरेर सदनमा पुगेको बताउनुभयो । उहाँले अस्पतालको अवस्था अत्यन्त भावविह्वल रहेको उल्लेख गर्दै सर्वसाधारणका लागि त्यहाँको दृश्य निकै पीडादायी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म भर्खरै वीर अस्पतालबाट अलि ढिलो गरिकन सदनमा उपस्थित भएको छु । वीर अस्पतालको दृश्य हेरिसक्नु छैन सभामुख महोदय । त्यहाँ जो कोही सामान्य मान्छेले वीर अस्पतालमा अहिले जाने स्थिति पनि छैन, हेरिसक्नु पनि स्थिति छैन। असाध्यै त्यहाँ भावविह्वल परिस्थिति बनेको छ ।”

महरका अनुसार उपचारका क्रममा मुगुका २५ वर्षीय गणेश नेपालीको निधन भएको हो । उहाँले मृतकका परिवारलाई भेट्नसमेत कठिनाइ भएको तथा हालसम्म शव परिवारलाई जिम्मा नदिइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । अस्पताल परिसरमा कडा सुरक्षा व्यवस्था गरिएकोप्रति पनि उहाँले आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो, “मैले धेरै घटना यहाँ दोहोर्‍याइरहनु परेन। मुगुका २५ वर्षीय गणेश नेपालीको अहिले उपचारको क्रममा निधन भएको छ । र विडम्बना त के, दुःखको कुरा त के भने, हिजोदेखि परिवारलाई पनि खासगरीकन भेट्न नदिइएको रहेछ त्यहाँ बुझ्दाखेरि, परिवारका आफन्तहरुसँग, आफन्तजनहरुसँग भेट्दाखेरि । र, अहिलेसम्म लास पनि हस्तान्तरण गरेको छैन । प्रहरीले कडा सुरक्षा दिएर, त्यो मानौ ठुलै अपराध गरेर आएको जसरिकन त्यहाँ चाहिँ त्यो लास राखिएको छ । यो बडा दुःखद्‌ छ ।”

उहाँले सरकारमाथि ‘स्टन्ट’ गर्ने प्रवृत्ति त्याग्न आग्रह गर्दै नागरिकलाई आत्मदाहजस्तो चरम कदम चाल्नुपर्ने अवस्था सिर्जना हुनु राज्यका लागि गम्भीर विषय भएको बताउनुभयो । पछिल्लो समय सुकुमवासीलगायतका नागरिकलाई सरकारले निराशा र चरम पीडामा धकेलेको उहाँको आरोप थियो ।

उहाँले भन्नुभयो, “हिजो अघि त्यहाँ केही मान्छेहरुले भन्दै हुनुहुन्थ्यो, हिजो रातभरि त्यहाँ गृहमन्त्री आउनुभो, चाहिँ यहाँ बस्नुभो भन्दै हुनुहुन्थ्यो । म भन्न चाहन्छु सरकारलाई, अघि पूर्ववक्ता माननीयले पनि यहाँ धेरै कुरा राखिसक्नुभएको छ । स्टन्ट गर्ने बानी सरकारले छोड्न पर्‍यो । स्टन्ट बन्द गर्न पर्‍यो । राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँबाट चाहिँ माथि उठाउनु पर्‍यो । र यो राज्यले नागरिकहरुलाई चाहिँ आत्मदाह गर्ने परिस्थिति जबर्जस्त निर्माण गरिरहेको छ।”

Share This:
सम्बन्धित खबर
Loading...