माङसेबुङमा सिँचाइ कुलो निर्माण भएपछि किसान हर्षित

6
  • राम कुमार लिम्बू

फिक्कल, २६ असार । इलामको माङसेबुङ गाउँपालिका–२ मालबाँसेका किसान चन्द्र बहादुर राना मगरलाई यस वर्ष धानखेती गर्न समस्या छैन । वर्षौँदेखि आकासे पानीको भरमा धानखेती गर्दै आउनुभएका उहाँ यस वर्षदेखि पुरानो समस्याबाट मुक्त हुनुभएको हो ।

साना सिँचाइ कार्यक्रममार्फत गाउँमा पक्की कुलो निर्माण भएसँगै मालबाँसेका किसानको मुहारमा खुसी छाएको छ । “विगतमा आकासे पानीको पर्खाइमा नै बित्ने गर्दथ्यो, यस वर्षदेखि सुरुमा नै सिँचाइ सुविधा विस्तार भएपछि त्यो बाध्यताबाट मुक्ति पाइयो,” योजना उपभोक्ता समिति अध्यक्ष रहनुभएका उहाँले भन्नुभयो, “मसहित यहाँका ५० बढी किसानलाई पुरानो पीडाबाट मुक्ति मिलेको छ ।”

मालबाँसेमा साना सिँचाइ कार्यक्रमअन्तर्गत व्यवस्थित सिँचाइ कुलो निर्माण भएपछि मगरसहित ५० बढी किसानहरु यतिबेला खुसी भएका हुन् । उहाँको टोलमा ३० लाख ३६ हजार रूपैयाँको लागतमा ट्वाङ्ग्रे खोलाबाट ट्वाङ्ग्रे–बालबाँसे सिँचाइ कुलो निर्माण भएको हो । कुलो निर्माणसँगै वर्षौँदेखि आकासे पानी पर्खनुपर्ने झन्झटबाट मुक्त भएसँगै मालबाँसेका किसान खुसी भएका हुन् ।

माङसेबुङ–५ का किसान टीकाराम केरुङ पनि खुसी हुनुहुन्छ । स्थानीय मेवा खोला सिँचाइ योजनाबाट पक्की कुलो निमर्ण भइ खेतमा टनाटन पानी आउन थालेपछि केरुङसहित सो वडाका सबैजसो किसान खुसी भएका हुन् । पानीको अभावमा खेत बाँझै राखेर बस्न विवश मेवा टोलका किसानलाई सिँचाइ आयोजनाले ठुलो राहत मिलेको केरुङले बताउनुभयो ।

मगर र केरुङ प्रतिनिधि उदाहरण मात्र हुनुहुन्छ । माङसेबुङका चार वडामा सञ्चालित आठ वटा साना सिँचाइ कार्यक्रमबाट त्यहाँका सयौँ किसान उत्साहित भएका छन् । बाँझो रहेको खेतखेतमा सिँचाइ सुविधा पुगेपछि किसान उत्साहित छन् ।

आर्थिक वर्ष २०८२/८३ मा माङसेबुङमा एक करोड १७ लाख ४१ हजार ७११ रूपैयाँको लागतमा मर्मतसम्भारसहित आठ वटा पक्की कुलो निर्माण सम्पन्न भएका छन् । गत वर्ष निर्माण सुरु भइ अधुरो रहेको वडा नम्बर ४ स्थित रतुवाखोला–बाघमारा–सिङफेरे–मार्चेबुङ सिँचाइ योजना यस वर्ष १० लाख ४५ हजार ३९ रूपैयाँको थप लागतमा सम्पन्न भएको छ । त्यस्तै वडा नम्बर ५ मा २४ लाख ९१ हजार ८१२ रूपैयाँको लागतमा मेवाखोला सिँचाइ योजना निर्माण सम्पन्न भएको छ ।

त्यस्तै, गएको असोज १८ गतेको आरीघोप्टे वर्षासँगै आएको बाढीले क्षतिग्रस्त पाँच वटा सिँचाइ योजना मर्मतसम्भार सम्पन्न भएका छन् । माङसेबुङ गाउँपालिका साना सिँचाइ योजना फोकल पर्सन अधिकृत छैटौँ (इन्जिनियर) युवराज दाहालका अनुसार बाढीले क्षतिग्रस्त वडा नम्बर १ मा १५ लख ७९ हजार ६०३ रूपैयाँको लागतमा हाङमायक सिँचाइ योजनाको मर्मतसम्भार सम्पन्न भएको छ । वडा नम्बर २ मा आठ लाख ६८ हजार ४९२ रूपैयाँको लागतमा लाम्पाते सिँचाइ योजना, पाँच लाख १८ हजार ४६७ रूपैयाँको लागतमा आहाले–दोभान–साजबोटे–सातबिसे सिँचाइ योजना, १५ लाख १० हजार २९० रूपैयाँको लागतमा मूलकुलो सिँचाइ योजना र छ लाख ९१ हजार ९५३ रूपैयाँको लागतमा फेवा विकासे सिँचाइ योजनाको मर्मतसम्भार सम्पन्न भएको फोकल पर्सन दाहालले जानकारी दिनुभयो ।

माङसेबुङको ग्रामीण क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएसँगै किसानहरुले समय अनुसारका अन्नबाली तथा तरकारी बाली उत्पादन गर्न थालेका छन् । यतिबेला किसानको दैनिकी समेत फेरिएको छ । “पहिले पहिले सिजनमा धान रोप्नका लागि आकासे पानी पर्खनुपर्ने बाध्यता थियो, समयमा पानी नपर्दा खेत बाँझै समेत राख्नुपर्ने बाध्यता थियो”,’ माङसेबुङ गाउँपालिका–४ का सिङफेरेका किसान गजेन्द्र राईले विगतलाई स्मरण गर्दै भन्नुभयो, “पक्की कुलोबाट पानी आउन थालेपछि अहिले ढुक्क भएको छ, अब आकासे पानी पर्खिरहनुपर्ने बाध्यताबाट मुक्त भएका छौँ ।”

योजनाबाट माङसेबुङका करिब चार हजार रोपनी क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको फोकल पर्सन दाहालले बताउनुभयो । सिँचाइ सुविधा विस्तारसँगै यहाँका ५०० बढी घरपरिवारका किसान प्रत्यक्ष लाभान्वित भएका छन् । योजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित पालिकाले २०÷२० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारी गरेको थियो ।

सिँचाइ विस्तार भएसँगै माङसेबुङमा रैथाने अन्नबाली, नगदेबाली तथा तरकारी बाली उत्पादन र उत्पादकत्वमा वृद्धि हुने अपेक्षा छ । “स्थानीय समुदाय र उपभोक्ता लागेर आयोजनाहरुको संरक्षण र सम्वद्र्धनमा ध्यान दिन सकेमा आयोजनाले दिगोपना त पाउँछन् नै, उत्पादन र उत्पादकत्वमा समेत वृद्धि हुनेछ”, फोकल पर्सन दाहालले भन्नुभयो । माङसेबुङमा धान, मकै, कोदो, फापर, गहुँलगायत अन्नबाली, अलैँची, अदुवा, कफी, आलु, अम्रिसोजस्ता नगदेबाली तथा टमाटर, अकबरे, मूला, काउली, कोपी, बन्दा, सिमीजस्ता तरकारी बालीको व्यावसायिक खेती हुँदै आएको छ ।

युवाहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र कृषि क्षेत्रको व्यवसायीकरणबाट आयआर्जन बढाउने उद्देश्यले स्वीस सरकारको सहयोगमा माङसेबुङसहित जिल्लाका विभिन्न पालिकामा साना सिँचाइ कार्यक्रम सञ्चालन भइरहेको छ । –रासस

Share This:
सम्बन्धित खबर
Loading...