झापा, २६ असार । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना बगाउने अधिकांश नेपाली युवाको सपना हुन्छ, स्वदेशमै फर्केर उद्यम गर्ने । यस्तै, सपनालाई यथार्थमा परिणत गर्न सफल हुनुभएको छ झापाको भद्रपुर नगरपालिका–९ चन्द्रगढीका फिलिप लिम्बू ।
दक्षिण कोरियामा एक दशक बिताएर गत वर्ष नेपाल फर्किनुभएका लिम्बूले आफ्नै जन्मथलोमा श्रीमतीको नाममा ‘सेवारो फूल कथा नर्सरी’ स्थापना गरी व्यावसायिक पुष्पखेती र बिरुवा उत्पादनको काम सुरु गर्नुभएको हो ।
सानैदेखि फूलप्रति विशेष रुचि राख्ने लिम्बूले विदेशमा रहँदा पनि अवसर पाएसम्म बगैँचा र हरियालीसँग जोडिएका काम नियाल्नुभयो । स्वदेश फर्किएपछि त्यही रुचिलाई व्यवसायमा रूपान्तरण गर्ने अठोटका साथ उहाँले नर्सरी स्थापना गर्नुभएको हो ।
“रोजगारीका सिरसिलामा लामो समय विदेश बसियो । पैसा कमाइयो, तर परिवारसँग बस्न पाइएन”, लिम्बूले भन्नुभयो, “आफ्नै देशमा केही गर्नुपर्छ भनेर कोरियामा हुँदै योजना बनाइसकेको थिएँ । अहिले परिवारसँगै बसेर आफ्नै रुचिको व्यवसाय गर्न पाउँदा आर्थिक आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ । विदेशमा कमाएको अनुभव र पुँजी आफ्नै माटोमा लगानी गर्न पाउँदा गर्व लाग्छ ।”
एक वर्षअघि सुरु गरिएको नर्सरीले छोटो समयमै राम्रो व्यापार गर्न थालेको छ । यहाँ विभिन्न जातका मौसमी फूल, सजावटी बिरुवा, फलफूलका बिरुवा तथा घरआँगन हरियाली बनाउन प्रयोग हुने बिरुवा उत्पादन तथा बिक्री हुँदै आएका छन् ।
स्थानीय ग्राहकसँगै जिल्ला बाहिरबाट पनि माग बढ्दै गएको लिम्बू बताउनुहुन्छ । उहाँका अनुसार नर्सरीमा उत्पादन भएका बिरुवा अहिले झापामात्र नभइ चितवन, धरान, इटहरी, विराटनगरलगायतका विभिन्न स्थानसम्म पुग्न थालेका छन् ।
व्यवसाय विस्तारसँगै ग्राहकको विश्वास पनि बढ्दै गएको उहाँको अनुभव छ । “गुणस्तरीय बिरुवा उत्पादन गर्ने र ग्राहकलाई आवश्यक परामर्श दिने प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो, “एकपटक बिरुवा लिएर सन्तुष्ट भएका ग्राहक फेरि पनि आउनुहुन्छ र अरूलाई पनि सिफारिस गर्नुहुन्छ । यही नै हाम्रो सबैभन्दा ठुलो उपलब्धि हो ।”
लिम्बूको व्यवसाय सफल बनाउन सामाजिक सञ्जाल ‘टिकटक’ प्रभावकारी माध्यम बनेको छ । उहाँले नियमित रूपमा नर्सरीमा रहेका फूल, बिरुवा, तिनको हेरचाह गर्ने तरिका तथा नयाँ उत्पादनका भिडिओ टिकटकमार्फत सार्वजनिक गर्दै आउनुभएको छ । यसले नर्सरीको प्रचारप्रसारमा ठुलो सहयोग पुगेको उहाँ बताउनुहुन्छ ।
“सदुपयोग गर्नेका लागि सामाजिक सञ्जाल निकै राम्रो प्लेटफर्म हो”, उहाँले भन्नुभयो, “टिकटकबाट हाम्रो नर्सरी धेरै मानिससम्म पुगेको छ । भिडिओ हेरेरै धेरै ग्राहक नर्सरी खोज्दै आउनुहुन्छ । अनि कति ग्राहकले अनलाइनमार्फत ‘अर्डर’ पनि दिनुहुन्छ । अहिले मेरो लागि सामाजिक सञ्जाल व्यवसाय प्रवर्द्धनको प्रभावकारी माध्यम बनेको छ ।”
सुरुआतमा नर्सरीको संरचना निर्माण, बिरुवा उत्पादन र आवश्यक पूर्वाधार तयार गर्न करिब आठ लाख रूपैयाँ लगानी भएको लिम्बूले जानकारी दिनुभयो । यसमा सरकारी निकायले पनि साथ दिएको छ । यसमध्ये राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यान्वयन एकाइ भद्रपुरबाट पुष्प नर्सरी स्थापना तथा पुष्प व्यवसाय कार्यक्रममार्फत ५० प्रतिशत अर्थात् रूपैयाँ चार लाख अनुदान प्राप्त भएको हो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ भद्रपुरका प्रमुख रविन्द्र सुवेदीले कृषि क्षेत्रमा नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । “वैदेशिक रोजगारीबाट फर्किएका युवाले आफ्नो सीप, अनुभव र पुँजीलाई कृषि क्षेत्रमा लगानी गर्नु सकारात्मक कुरा हो”, सुवेदीले भन्नुभयो, “यस्ता उद्यमले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै व्यावसायिक कृषि विस्तारमा पनि टेवा पुग्छ ।”
सरकारको नीतिअनुसार कार्यालयले कृषि उद्यमशीलतालाई प्रवर्द्धन गर्न विभिन्न अनुदान तथा प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको छ । इच्छाशक्ति र योजनासहित काम गर्ने किसान तथा उद्यमीलाई हामीले निरन्तर सहयोग गरिरहेका छौँ ।” –रासस