वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

6

सुनसरी, २१ असार । वैदेशिक रोजगारीमा ११ वर्ष बिताउनुभएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले हाल पेडा व्यवसायबाट मासिक ८० हजार रूपैयाँभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

मलेसियाबाट स्वदेश फर्किएपछि केही वर्ष धरान–चतरा–रामपुर सडकखण्डमा ट्याम्पो चलाउनुभएका उहाँ चतराघाटमा सञ्चालनमा रहेका पेडा पसलबाट प्रभावित भएर तीन वर्षअघि त्यसमा होमिनुभएको हो । “सुरुमा विभिन्न मिठाइ बनाएर बिक्री गर्थेँ । पछि पेडा बनाउन थालेँ । अहिले यही व्यवसाय राम्रोसँग चलिरहेको छ,” उहाँले भन्नुभयो ।

केही दशकअघि कोशी नदी किनारको चतराघाट ढिके नुनको व्यापारका लागि परिचित थियो । साहका पितापुर्खाले पनि त्यहीँ स्थानमा ढिके नुनको व्यापार गर्नुहुन्थ्यो । समयसँगै व्यापारको स्वरूप फेरिँदै अहिले चतराघाट पेडा पसलका लागि परिचित बन्दै गएको छ ।

विक्रम सम्वत् २०७२ मा चतरास्थित कोशी पुल सञ्चालनमा आएपछि धरान, इटहरी, विराटनगरलगायत पूर्वी क्षेत्रबाट चतरा–गाईघाट–सिन्धुली हुँदै काठमाडौँ जाने वैकल्पिक सडकमार्ग प्रयोगमा आयो । त्यसयता यस क्षेत्रमा सवारीसाधनको आवागमन उल्लेख्य रूपमा बढेसँगै व्यापारिक गतिविधि पनि विस्तार भएको साह बताउनुहुन्छ ।

यात्रुको चहलपहल बढेसँगै पेडाको माग पनि निरन्तर बढिरहेको छ । अहिले उहाँको पसलमा देशका विभिन्न जिल्लाबाट आउने यात्रुले पेडा किन्ने गरेका छन्। अनलाइनमार्फत पनि पर्याप्त अर्डर आउने गरेको र डेलिभरीको व्यवस्था समेत मिलाइएको उहाँले जानकारी दिनुभयो । दैनिक १२० लिटरभन्दा बढी दुधबाट पेडा उत्पादन गर्नुहुन्छ । उहाँले उदयपुरको रामपुर र श्रीलङ्का टप्पु क्षेत्रबाट दुध खरिद गरी पेडा बनाउने गरेको बताउनुभयो ।

“विदेशमा १२ घन्टा काम गर्दा मुस्किलले ४० रूपैयाँदेखि ४५ हजार रूपैयाँ कमाइ हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले आफ्नै ठाउँमा परिवारसँग बसेर काम गर्दा मासिक ७० रूपैयाँदेखि ८० हजार रूपैयाँसम्म आम्दानी हुन्छ । आफ्नै गाउँमा बसेर काम गर्न पाउनु नै सबैभन्दा ठुलो सन्तुष्टि हो ।”

हाल चतराघाट क्षेत्रमा एक दर्जनभन्दा बढी पेडा पसल सञ्चालनमा छन् । कोशी पुल निर्माणपछि बढेको सर्वसाधारणको आवागमनसँगै चतराघाट पूर्वी नेपालको पेडा उत्पादन र बिक्रीका लागि परिचित केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...