- मनिषा बस्नेत
काठमाडौँ, १७ असार । दुग्ध विकास संस्थान (डिडिसी) नेपालको दुग्ध क्षेत्रको इतिहास बोकेको संस्था हो । आम उपभोक्ताको विश्वास जितेको यस संस्था अझै पनि बजारीकरण अभाव, तीव्र प्रतिस्पर्धा र व्यवस्थापकीय कमजोरीका कारण गति लिन सकिरहेको छैन ।
काठमाडौँ दुग्ध वितरण आयोजना बालाजुका प्रमुख चक्रवर्ती पौडेल डिडिसीले आफ्नो गुणस्तरमा विश्वास आर्जन गरे पनि व्यावसायिक विज्ञापन र ब्राण्डिङमा अझै पछि परिरहेको स्वीकार्नुहुन्छ । हाल बजारमा देखिएको खुला दुधको दबदबा र बढ्दो मागलाई सम्बोधन गर्न संस्थानले अब परम्परागत शैली त्यागेर आधुनिक बजारीकरण र नीतिगत सुधारतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको पौडेल बताउनुहुन्छ ।
संस्थानले लामो समयदेखि कुनै पनि औपचारिक विज्ञापन वा मार्केटिङ अभियान सञ्चालन गरेको छैन । उपभोक्ताको मनमा रहेको विश्वास स्वतःस्फूर्त रूपमा बनेको हो, जसलाई रणनीतिक रूपमा व्यावसायिक ब्राण्डिङमा परिणत गर्न सकिएको छैन ।
डिडिसी अब बदलिँदो बजार र निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न आक्रामक ब्रान्डिङ, विज्ञापन र बजार प्रवर्द्धनमा केन्द्रित हुने तयारीमा जुटेको छ ।
“वास्तवमा हामी चुकेको क्षेत्र नै मार्केटिङ हो । आफ्ना उत्पादनको व्यवस्थित विज्ञापन गरेकै छैनौँ । उपभोक्ताले सरकारी संस्था भएकाले गुणस्तरमा विश्वास गरेर उत्पादन खरिद गरिरहेका छन् । त्यही विश्वासकै आधारमा डिडिसी टिकिरहेको छ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमा डिडिसीको याक चिज खाएको फोटो पोष्ट गर्नुका साथै सार्वजनिक कार्यक्रममा, मन्त्रीपरिषदको बैठकहरुमा डिडिसीको दुग्धजन्य सामाग्रीको उपभोगले भने संस्थानले ब्रान्डिङको शक्ति प्रत्यक्ष रूपमा अनुभव गरेको छ ।
“प्रधानमन्त्रीज्यूले याक चिज खाइसकेपछि हाम्रो आउटलेटहरूमा पहिलेको तुलनामा लगभग दोब्बर अनुपातमा बिक्री भइरहेको छ । त्यसपछि पनि ब्रान्डिङ र मार्केटिङ कति आवश्यक रहेछ भन्ने अझ स्पष्ट भएको छ,” पौडेलले भन्नुभयो ।
उहाँका अनुसार अहिले डिडिसीमा नयाँ नेतृत्व आएको छ र नयाँ महाप्रबन्धकले पनि विज्ञापन तथा बजार विस्तारलाई प्राथमिकतामा राखेका छन् ।
केन्द्रीय कार्यालयले विज्ञापनका लागि बजेट छुट्याउने, होर्डिङ बोर्ड राख्ने, प्रचारात्मक अभियान सञ्चालन गर्ने तथा ब्रान्डलाई नयाँ ढंगले प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।
विश्वास थियो, प्रचार थिएन
डिडिसीका उत्पादन वर्षौँदेखि नेपाली उपभोक्तामाझ गुणस्तरका कारण परिचित छन्। दुध, दही, घिउ, मक्खन, पनिरदेखि याक चिजसम्मका उत्पादनलाई उपभोक्ताले विश्वासका साथ प्रयोग गर्दै आएका छन् । तर, निजी डेरी उद्योगहरूले बजारमा आक्रामक प्रचार, आकर्षक प्याकेजिङ र वितरण प्रणाली विस्तार गरिरहँदा डिडिसी भने परम्परागत शैलीमै सीमित रह्यो ।
पौडेलका अनुसार संस्थानले गुणस्तरलाई प्राथमिकता दिए पनि त्यसलाई उपभोक्तामाझ प्रभावकारी रूपमा प्रस्तुत गर्न नसक्दा प्रतिस्पर्धामा पछि परेको हो ।
उहाँले भन्नुभयो, “हामीले उत्पादन बनायौँ, बिक्री पनि भइरह्यो, तर बजारमा गएर आफ्नो ब्रान्डलाई स्थापित गर्ने काम भने गर्न सकेनौँ ।”
खुला दुधले बढायो चुनौती
डिडिसीका अनुसार बजारमा सबैभन्दा ठुलो चुनौती अहिले खुला रूपमा बिक्री हुने दुध र दुग्धजन्य पदार्थबाट आएको छ । बजारमा प्लास्टिकमा रबरले बाँधेर बिक्री गरिने खुला दुध र दुग्धजन्य पदार्थले गुणस्तरका मापदण्ड पालना गर्ने उद्योगहरूलाई ठुलो चुनौती दिएको पौडेलले बताउनुभयो । उहाँका अनुसार यसले स्वस्थ प्रतिस्पर्धी वातावरणलाई बिथोलेको छ ।
करिब एक दशकअघि प्याकेज्ड दुधको बजारमा डिडिसीको हिस्सा करिब ४० प्रतिशत रहेको अनुमान गरिन्थ्यो ।
पौडेलका अनुसार हालै खाद्य तथा दुग्ध प्रविधिसम्बन्धी एक सम्मेलनमा प्रस्तुत जानकारीअनुसार अहिले डिडिसीको बजार हिस्सा करिब २० प्रतिशत हाराहारीमा झरेको अनुमान गरिएको छ भने करिब ६० प्रतिशत बजार खुला दुधले ओगटेको देखिएको छ । तर, अहिले आधिकारिक सर्वेक्षण गरिएको छैन । यसले गर्दा नीति निर्माणमा समेत अन्योल सिर्जना भएको छ ।
उहाँका अनुसार उपभोक्ताले मूल्यका आधारमा खुला दुध रोजे पनि त्यसको गुणस्तर, सुरक्षा र मापदण्डबारे पर्याप्त निगरानी आवश्यक रहेको उनको धारणा छ।
महीमा बढ्दो आकर्षण
डिडिसीले पछिल्लो समय सबैभन्दा बढी माग बढेको उत्पादनका रूपमा महीलाई लिएको छ । स्वास्थ्यप्रति बढ्दो सचेतना र चिनी मिसाइएका पेय पदार्थको विकल्प खोज्ने प्रवृत्तिका कारण महीको माग उल्लेख्य रूपमा बढेको पौडेल बताउनुहुन्छ ।
“सामाजिक कार्यक्रमहरूमा पनि अहिले कोल्ड ड्रिङ्क्स वा पेय प्रदार्थभन्दा मही प्रयोग गर्ने चलन बढेको छ । स्वास्थ्यका हिसाबले पनि मही राम्रो विकल्प भएकाले यसको व्यापार उल्लेख्य रूपमा बढेको छ,” उहाँले भन्नुभयो ।
तर, सीमित उत्पादन क्षमता र जनशक्तिका कारण अहिले पनि मागअनुसार बजारमा मही उपलब्ध गराउन नसकिएको उहाँले स्वीकार गर्नुभयो ।
उहाँले भन्नुभयो, “महीको डिमान्ड एकदमै धेरै छ । वास्तवमा काठमाडौँ दुग्ध वितरण आयोजनाबाट डिमान्डअनुसारको मोही दिन सकिराखेका छैनौँ । सीमित जनशक्ति अनि अहिलेको उत्पादन युनिट पनि त्यति व्यवस्थित भइसकेको छैन । त्यसले गर्दाखेरि माग अनुसार दिन नसकेकै हो ।”
यसैलाई मध्यनजर गर्दै डिडिसीले साउन १ गतेदेखि १ लिटर र ३०० मिलिलिटरका बोतलमा मही बजारमा ल्याउने तयारी पूरा गरेको जनाएको छ । आधुनिक प्याकेजिङले नयाँ पुस्ताका उपभोक्तालाई आकर्षित गर्ने विश्वास संस्थानको छ ।
प्रधानमन्त्रीको प्रभावले देखायो ब्रान्डिङको शक्ति
पौडेलका अनुसार प्रधानमन्त्रीले याक चिज प्रयोग गरेपछि भएको बिक्री वृद्धिले डिडिसीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ ।
उत्पादन राम्रो हुनु मात्र पर्याप्त नहुने, त्यसलाई प्रभावकारी रूपमा उपभोक्तासम्म पुर्याउन प्रचार–प्रसार, ब्रान्डिङ र सार्वजनिक उपस्थितिको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने निष्कर्षमा संस्थान पुगेको छ ।
यसैले आगामी दिनमा डिजिटल माध्यम, होर्डिङ बोर्ड, प्रचार अभियान र उपभोक्तामुखी कार्यक्रममार्फत डिडिसीलाई नयाँ ढंगले प्रस्तुत गर्ने योजना बनाइएको उहाँले जानकारी दिनुभयो ।
“हाल नयाँ महाप्रबन्धकज्यू पनि भर्खरै आउनुभएको छ । उहाँको पनि इच्छा पनि विज्ञापन वा मार्केटिङ खुलेर गरौँ भन्नेमा हुनुहुन्छ । केन्द्रीय कार्यालयले पनि केही बजेट यसको लागि छुट्याएर विज्ञापनहरू गर्ने, ठाउँ–ठाउँमा अब होर्डिङ बोर्ड गर्न सकिन्छ अथवा के गर्न सकिन्छ भन्ने छ,” उहाँले भन्नुभयो ।
बजार विस्तारको अपेक्षा
डिडिसीले बजार विस्तारका लागि सरकारसँग नीतिगत सहयोगको पनि अपेक्षा गरेको छ । पौडेलका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सरकारी अस्पताल, सरकारी क्यान्टिन तथा अन्य सार्वजनिक निकायमा आवश्यक दुग्धजन्य पदार्थ डिडिसीबाट खरिद गर्ने व्यवस्था गरियो भने संस्थानलाई स्थायी बजार प्राप्त हुनेछ ।
उहाँले भन्नुभयो, “त्यहाँ मात्रै पनि यति ठुलो बजार छ कि त्यसको माग पूरा गर्न नै हामीलाई चुनौती हुनेछ । सरकारले नीतिगत रूपमा सहयोग गरिदियो भने किसानको दुध पनि सहज रूपमा खपत हुन्छ र संस्थान पनि आत्मनिर्भर बन्छ ।”
किसानको भुक्तानी सुधारतर्फ
डिडिसीले किसानको भुक्तानीमा सुधार गरिरहेको पनि पौडेले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थानको समग्र बक्यौता रकम पहिलेको तुलनामा उल्लेख्य रूपमा घटेको छ । काठमाडौँ दुग्ध वितरण आयोजनाअन्तर्गतका सहकारीहरूको फागुनसम्मको भुक्तानी भइसकेको छ भने हाल चैत, वैशाख र जेठ महिनाको मात्रै भुक्तानी बाँकी रहेको उहाँले बताउनुभयो ।
“भुक्तानीको सन्दर्भमा ठ्याक्कै थाहा भएन तर संस्थानको समग्र भुक्तानी लगभग ४० करोडको हाराहारी भन्दा पनि तल झरिसक्यो भन्ने सुनेको छु । काठमाडौँ दुग्ध वितरण आयोजना अन्तर्गतको सहकारीहरूको हकमा फागुन अन्तिमसम्मको भुक्तानीहरू भइसकेको छ । अब चैत, वैशाख र जेठ तीन महिनाको भुक्तानी मात्रै बाँकी छ,” उहाँले भन्नुभयो ।
उहाँले केही निजी डेरी उद्योगहरूले पनि डिडिसीको नाम जोडेर किसानको भुक्तानी रोक्ने गरेको आरोप लगाउँदै सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
सुधारको बाटोमा डिडिसी
विगत केही वर्षसम्म आर्थिक संकट, पुराना उपकरण, उत्पादन लागत र बजार प्रतिस्पर्धाका कारण दबाबमा रहेको डिडिसी अहिले विस्तारै सुधारको दिशामा अघि बढिरहेको संस्थानको दाबी छ ।
पौडेलका अनुसार मिडियामा अहिले संस्थानका सकारात्मक गतिविधिहरू पनि आउन थालेका छन्, जसले उपभोक्ताको विश्वास अझ बढाउन मदत पुगेको छ ।
उहाँले भन्नुभयो, “पुरानो संरचना र सीमित स्रोतसाधनबीच काम गरिरहेका छौँ । तर, अहिले विस्तारै नाफाको बाटोतर्फ अघि बढिरहेका छौँ । अब गुणस्तरीय उत्पादनसँगै प्रभावकारी बजारिकरणलाई जोड्न सके डिडिसीले गुमाएको बजार पुनः प्राप्त गर्न सक्छ भन्ने हाम्रो विश्वास छ ।”
डिडिसीका लागि अब सबैभन्दा ठुलो चुनौती गुणस्तरीय उत्पादन बनाउनु मात्र होइन, त्यसलाई आधुनिक बजारको आवश्यकता अनुसार ब्रान्डिङ, विज्ञापन र वितरण प्रणालीमार्फत उपभोक्तासम्म पुर्याउनु पनि हो । वर्षौँदेखिको विश्वासलाई आधुनिक बजारिकरणसँग जोड्न सके संस्थानले फेरि एकपटक नेपाली दुग्ध बजारमा आफ्नो प्रभावशाली उपस्थिति स्थापित गर्न सक्ने अपेक्षा गरिएको छ । –नेपाल न्युज बैङ्क