बजेट तथा नीति कार्यान्वयनमा नयाँपन छैन : प्रमुख सचेतक थापा

5

काठमाडौँ, २ असार । नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक बासना थापाले वर्तमान सरकारप्रति कडा टिप्पणी गर्दै बजेट तथा नीति कार्यान्वयनमा नयाँपन नदेखिएको आरोप लगाउनुभएको छ ।

मङ्गलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले झण्डै दुईतिहाइको जनादेश पाए पनि अपेक्षित सुधार र नवीनता देखाउन नसकेको बताउनुभयो । उहाँका अनुसार बजेट पुरानै संरचनामा हल्का परिमार्जन मात्र गरिएको जस्तो देखिएको छ ।

थापाले स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा छुट्याइएको बजेट ‘सहरी केन्द्रित र महत्वाकाङ्क्षी’भएको टिप्पणी गर्दै यस विषयमा सांसदहरूले निरन्तर प्रश्न उठाइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी के चाहन्थ्यौँ भने, नयाँ बनेर आएको झन्डै दुई तिहाइ म्यान्डेट पाएको सरकारले केही चिज नयाँ गरोस् भन्ने थियो । तर, पुरानै चिज वा मुद्दामा बजेट बनेको छ, त्यही बजेटलाई हल्का परिमार्जन गरेको जस्तो मात्र देखिएको छ । बजेट सहरी केन्द्रित र महत्वकाङ्क्षी मात्र देखिरहेको छ ।”

उहाँले मन्त्रीहरूको अनुपस्थितिलाई लिएर संसदीय समितिमा देखिएको असहजताबारे पनि टिप्पणी गर्नुभयो ।

पूर्वाधार समितिमा मन्त्री उपस्थित नभएको अवस्थामा छलफल अघि बढे पनि निर्णय प्रभावकारी नहुने भएकाले अभ्यासअनुसार मन्त्रीको उपस्थितिलाई आवश्यक मानिएको उहाँको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...