काठमाडौँ, १५ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गर्नुभएको छ ।
१९औँ गणतन्त्र दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले भन्नुभएको छ, “गणतन्त्र दिवसको यस सुखद् अवसरमा म राज्यका सम्पूर्ण निकाय, राजनीतिक दल र आमनागरिकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यताहरूलाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गर्दछु ।”
हाम्रो राष्ट्रिय लक्ष्य अब सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय हुनुपर्ने उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले मुलुकको स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुट्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
नेपालको राजनीतिक इतिहासमा जेठ १५ गते एक गौरवशाली र अविस्मरणीय दिन भएको उल्लेख गर्दै उहाँले यस गौरवमय दिनको पृष्ठभूमिमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात अमर सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूमा नेतृत्व प्रदान गर्नुहुने आदरणीय अग्रजहरूप्रति उच्च सम्मान पनि व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “गणतन्त्रको स्थापना केवल व्यवस्था परिवर्तनमात्र होइन, यो त नेपाली जनताको जीवनस्तरमा सकारात्मक रूपान्तरण ल्याउने र राज्यका हरेक तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने एउटा माध्यम हो, गणतन्त्रको वास्तविक सुन्दरता र सार्थकता तबमात्र झल्किन्छ, जब समाजको किनारामा रहेका विपन्न, उत्पीडित र सीमान्तकृत नागरिकले पनि ‘राज्य मेरो सहारा हो’ र ‘म यो देशको सम्मानित नागरिक हुँ’ भन्ने अनुभूति गर्न पाउँछन् ।”