वन्यजन्तु मार्न राखिएका १०५ थान अवैध पासो फेला पारी नष्ट

3
  • निरज थकाली

जोमसोम, १४ जेठ । मुस्ताङको घरपझोङ गाउँपालिकाअन्तर्गत पर्ने संवेदनशील वन क्षेत्रमा वन्यजन्तुको अवैध सिकार नियन्त्रण गर्ने उद्देश्यका साथ एक विशेष र बृहत् वन गस्ती सफलतापूर्वक सम्पन्न भएको छ ।

इलाका संरक्षण कार्यालय, जोमसोम र संरक्षण क्षेत्र व्यवस्थापन समिति, जोमसोमको संयुक्त आयोजना तथा नेतृत्वमा यो अभियान सञ्चालन गरिएको इलाका संरक्षण कार्यालयका प्रमुख राजेश गुप्ताले बताउनुभयो । जैविक विविधता र दुर्लभ वन्यजन्तुको संरक्षणका लागि चालिएको यस कदममा ठिनी र जोमसोमका स्थानीय समुदायका प्रतिनिधि, संरक्षणकर्मी तथा जिल्ला प्रहरी कार्यालय, मुस्ताङका सुरक्षाकर्मीको समेत सक्रिय एवम् उल्लेखनीय सहभागिता रहेको थियो ।

गस्तीका क्रममा वन्यजन्तुको आवतजावत हुने मुख्य मार्ग तथा झाडीहरूमा लुकाएर राखिएका फेला पारिएको प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीले जानकारी दिनुभयो ।

बरामद गरिएका यी पासोहरू मुख्य गरी बहुमूल्य एवम् संकटापन्न कस्तुरी मृगलाई पासोमा पारेर अवैध सिकार गर्ने नियतले सिकारीहरूले थापेका थिए । गस्ती टोलीले ती सबै अवैध पासोहरूलाई तत्कालै सङ्कलन गरी घटनास्थलमै पूर्ण रूपमा नष्ट गरेको छ ।

वन र वन्यजन्तुको रक्षाका लागि आगामी दिनमा गस्तीलाई अझ बढी प्रभावकारी बनाउने योजना बनाइएको छ । शङ्कास्पद वन क्षेत्रहरूमा यस्ता संयुक्त गस्ती कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने कार्यालयले जनाएको छ ।

सिकारी र तस्करहरूको गतिविधिमाथि कडा निगरानी राख्न घैतुङ जङ्गल तथा वरपरका क्षेत्रहरूमा आधुनिक जासुसी क्यामेरा (ट्रेपिङ क्यामेरा), स्पाई क्यामारा हरू जडान गर्ने तयारी भइरहेको संरक्षण सहायक दीपक ओलीले बताउनुभयो । यस प्रविधिको प्रयोगले अवैध गतिविधिमा संलग्नहरूलाई पहिचान गरी कानुनी दायरामा ल्याउन ठुलो मदत पुग्ने विश्वास गरिएको छ । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...