गणतन्त्र आयो, तर नागरिकले परिवर्तन महसुस गरेनन् : भीम उपाध्याय

11
  • आकाङ्क्षा धामी

काठमाडौँ, १५ जेठ । नेपालमा गणतन्त्र स्थापना भएको झन्डै दुई दशक पुग्न लाग्दा पनि नागरिक तहमा यसको प्रभाव र उपलब्धिबारे बहस अझै तीव्र छ । संविधान बनेको एक दशक नाघिसक्दा पनि राज्य सञ्चालन, संघीयता, सुशासन, नेतृत्व उत्पादन र परराष्ट्र नीतिमा अपेक्षित परिणाम नआएको भन्दै नेपाल सरकारका पूर्वसचिव एवम् विश्लेषक भीम उपाध्यायले वर्तमान राजनीतिक व्यवस्थाप्रति गम्भीर असन्तोष व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “गणतन्त्र संस्थागत अझै भएको छैन । गणतन्त्र आइसकेपछि संविधान बन्यो । संविधानको खासै कार्यान्वयन भएन । दुई–तीनवटा चुनाव भयो तर त्यसले बनाउनुपर्ने कानुन बनाएन ।”

नेपाल न्युज बैङ्कसँग गणतन्त्र दिवसको अवसरमा गरिएको लामो संवादमा उपाध्यायले गणतन्त्रलाई केवल ‘राजा हटाउने प्रणाली’ का रूपमा बुझिनु पर्याप्त नभएको बताउनुभयो । उहाँले व्यवस्थाले नागरिकलाई परिणाम दिन सकेन भने त्यो व्यवस्थाप्रति प्रश्न उठ्नु स्वाभाविक हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गणतन्त्र आएपछि संविधान बन्यो, चुनाव भए तर राज्य चलाउने आधारभूत कानुन र संस्थागत संरचना बलियो बन्न सकेन । नागरिकले आज पनि सोधिरहेका छन् गणतन्त्र भएर के परिवर्तन भयो ?”

उपाध्यायले नेपालमा गणतन्त्र स्थापनाको मूल कारण राजतन्त्रप्रतिको असन्तोष भए पनि त्यसपछिको राजनीतिक नेतृत्वले जनअपेक्षा पूरा गर्न नसकेको बताउनुभयो । उहाँका अनुसार, विगतका तीन राष्ट्रपतिले पनि सन्तोषजनक कार्यसम्पादन गर्न नसकेको धारणा जनतामा बढ्दै गएको छ ।

“जनताले सोचे, राजा हटेपछि देश बदलिन्छ । तर, आज नागरिकले महसुस गरेको परिवर्तन कहाँ छ ? विकास, प्रशासन, सेवा प्रवाह जुनसुकै प्रणालीमा हुनुपर्ने कुरा हुन्,” उहाँले भन्नुभयो, “तर, गणतन्त्रको पक्षमा बोल्नेहरू अहिले आफैँ मौन देखिन्छन् ।”

उहाँले आफूलाई पनि गणतन्त्र दिवस मनाउन पहिले जस्तो उत्साह नरहेको स्वीकार गर्नुभयो । “पहिला केही होला कि भन्ने आशा थियो । अहिले त्यसलाई सेलिब्रेसन गर्ने आधार नै कमजोर भएको महसुस हुन्छ,” उहाँले भन्नुभयो ।

उपाध्यायले नेपालको राजसंस्थालाई अन्य देशका निरंकुश राजतन्त्रसँग तुलना गर्न नमिल्ने बताउनुभयो । उहाँले नेपालका राजाहरू अरू देशजस्ता पूर्ण तानाशाह नभएकाले त्यो समय बहुदलीय प्रतिस्पर्धा प्रणाली कमजोर भएको बताउनुभयो ।

“नेपालका राजाहरू अरू देशजस्ता पूर्ण तानाशाह थिएनन् । पञ्चायतमा पनि एउटा प्रकारको प्रजातन्त्र थियो, तर बहुदलीय प्रतिस्पर्धा नदिइएकाले प्रणाली कमजोर भयो,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार, बहुदल आयो, त्यसपछि गणतन्त्र आयो, तर जनताले खोजेको परिवर्तन अझै प्राप्त भएन । “राजा हटेको २० वर्ष भयो, संविधान बनेको १० वर्ष भयो, तीनवटा चुनाव भए । तर, अन्तिम चुनाव नै दुर्घटनाजस्तो भयो,” उहाँले टिप्पणी गर्दै भन्नुभयो । नेपालको सामाजिक संरचना र सांस्कृतिक मनोविज्ञानमा अझै पनि ‘अभिभावक खोज्ने प्रवृत्ति’ रहेको उपाध्यायको विश्लेषण छ ।

उहाँले हिन्दु परम्परा, संस्कार र सामाजिक संरचनामा राजसंस्थाको सांस्कृतिक प्रभाव अझै गहिरो रहेको बताउनुभयो । “हाम्रो संस्कृतिमा राजालाई भगवानसरह मान्ने मनोविज्ञान थियो । तर, राजा हुने व्यक्तिहरूले आफूलाई साधारण मान्छेझैँ व्यवहार गरे । त्यहाँ मिसम्याच भयो,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार इतिहासको पुनरावलोकन गर्दा आफूलाई अहिले विगतमा सिकाइएको भन्दा फरक बुझाइ बनेको अनुभव भएको छ । “हामीलाई पहिले राजतन्त्र नै सबै समस्याको जड हो भन्ने पढाइन्थ्यो । अहिले इतिहास बुझ्दै जाँदा कुरा त्यति सरल रहेनछ भन्ने लाग्छ,” उहाँले भन्नुभयो ।

उपाध्यायले नेपालको राजनीतिक संकटको मुख्य कारण नेतृत्वले उत्तराधिकारी उत्पादन नगर्नु रहेको बताउनुभयो । उहाँले कृषिसँग तुलना गर्दै अहिले राजनीति बिउविहीन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै धान खाइदिएपछि अर्को वर्ष रोप्ने बिउ कहाँबाट आउँछ ? अहिले राजनीति बिउविहीन भएको छ ।”

उहाँका अनुसार, सक्षम नेताले आफूभन्दा सक्षम नयाँ पुस्ता तयार पार्नुपर्छ । तर, नेपालमा नेतृत्वले आफ्नोपछिको पुस्तालाई अवसर दिन नचाहेको आरोप उहाँले लगाउनुभयो ।

उहाँले भन्नुभयो, “त्यही नेता सबैभन्दा असल सक्षम नेता हो, जसले सन्तति आफ्नै बच्चा मात्र होइन, त्यसपछिका युवाहरुलाई ग्रो गरेर आफूभन्दा सक्षम बनाउँछ । त्यही प्यारेन्ट्सहरु वा त्यही बाउआमा सबैभन्दा सफल बाउआमा हुन् । जसको आफ्नो बालबच्चाहरु आफूभन्दा पनि तगडा भएर जान्छ । बाउआमा मात्र यस्तो नाता हो जसले आफ्नो बच्चा आफूभन्दा पनि योग्य बनोस् भन्ने चाहन्छ । अरु कुनैपनि सम्बन्ध श्रीमान्–श्रीमती होइन अरु दाजुभाइ दिदीबहिनीको सम्बन्ध यो हुँदैन । नेताहरुको हेर्नुस् त कस्तो भयो ? कोही नआओस् म पछि त, बरु म मर्छु वा सकिन्छु । तर, म बाँचुन्जेल म कसैलाई दिन्न । यसले गर्दा खाइदियो सबै ।”

नेपालको राजनीतिक इतिहासमा संविधान संशोधनभन्दा पनि आन्दोलनमार्फत व्यवस्था परिवर्तन भएको भन्दै उपाध्यायले अहिलेको संविधान पनि व्यवहारमा कमजोर देखिएको दाबी गर्नुभयो ।

“नेपालमा आजसम्म कुनै ठुला जनमाग संविधान संशोधनबाट पूरा भएका छैनन् । संविधान फालेर नयाँ संविधान ल्याइयो, नेपालमा सबै परिवर्तन आन्दोलनबाटै भए । अहिले पनि आन्दोलन नभएको यस्तो परिवर्तन हुँदैनथ्यो । सबै आन्दोलन हेर्नुहोला कुनैपनि संविधान संशोधन भएर जनताको माग पुरा भएको छैन । संविधान संशोधन नै भएको छैन, नेपालमा आजसम्म,” उहाँले भन्नुभयो ।

उहाँले संविधानले पूर्ण रूपमा काम गरेको भए राजनीतिक अस्थिरता र शक्ति संघर्ष यसरी दोहोरिने थिएन भन्दै प्रश्न गर्नुभयो । “घरको एउटा पिलर भत्कियो भने पुरै घर जोखिममा पर्छ । अहिले त्यही अवस्था हो,” उहाँले भन्नुभयो ।

उपाध्यायले नेपालको यतिबेलाको सबैभन्दा गम्भीर कमजोरी परराष्ट्र नीति रहेको बताउनुभयो । उहाँका अनुसार विगतका शासकहरूले परराष्ट्र सन्तुलन राम्रोसँग सम्हालेका कारण लामो समय शासन टिकेको थियो ।

उहाँले भन्नुभयो, “वस्तुगत परिस्थिति एउटा हुन्छ । वस्तुगत कुरा र वैयक्तिक कुरा मिल्यो भने मात्रै सफलता प्राप्त हुन्छ । त्यसलाई टिकाउनको लागि गृहनीति र परराष्ट्र नीति ब्यालेन्स भएन भने टिक्दैन । एउटा मान्छे दुई खुट्टामा हुन्छ । दुई खुट्टैमा मान्छे हिँडे जस्तै हो । परराष्ट्र मामला अहिले गृहभन्दा पनि संगिन हुँदै गएका छ, जटिल बनेको छ । त्यसमा नेपाल चुकिसकेको छ । तर राणा शासन १०४ वर्ष टिक्नु, पञ्चायत ३० वर्ष टिक्नु त्यो परराष्ट्र सन्तुलनकै कारण थियो ।”

गणतन्त्र एक दिनमा आएको होइन
उपाध्यायले गणतन्त्र एक दिनमा आएको व्यवस्था नभएको उल्लेख गर्दै त्यसका लागि विभिन्न राजनीतिक शक्ति र नेताहरूले दशकौं संघर्ष गरेको स्मरण गर्नुभयो । नेपाली कांग्रेसले पञ्चायती व्यवस्थाविरुद्ध लामो संघर्ष गरेको, वामपन्थी शक्तिहरूले जनवादी शासनको माग गर्दै आन्दोलन गरेको तथा जनआन्दोलन र सशस्त्र विद्रोहसम्मका प्रक्रियाले गणतन्त्रको आधार तयार गरेको उहाँले बताउनुभयो ।

“बहुदल माग्दै कांग्रेस ३० वर्ष लड्यो । वामपन्थीहरूले जनवादी शासनको माग गर्दै संघर्ष गरे । जनआन्दोलन भए । त्यसपछि गणतन्त्र आयो,” उहाँले भन्नुभयो, “तर, यति ठुलो संघर्षबाट आएको व्यवस्थालाई संस्थागत गर्ने काम कमजोर भयो ।”

उहाँका अनुसार गणतन्त्रका प्रमुख अभियन्ता र नेताहरू अझै जीवित रहेपनि उनीहरूकै सत्ता मोह, नेतृत्व हस्तान्तरणमा अनिच्छा र भ्रष्टाचारका कारण व्यवस्था बदनाम भएको छ । “‘गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबाहेक गणतन्त्रका अधिकांश प्रमुख नेतृत्व जीवितै छन्,” उहाँले भन्नुभयो, “तर, निरन्तर सत्ता लोलुपता, अपेक्षा बढाउने राजनीति र भ्रष्टाचारले यो व्यवस्थालाई कमजोर बनायो ।”

‘साइलेन्ट डिप्लोमेसी’को आवश्यकता
यसैगरी उहाँले वर्तमान राजनीतिक नेतृत्वमा विश्व राजनीति बुझ्ने गहिरो अध्ययन र रणनीतिक क्षमता कमजोर भएको टिप्पणी गर्नुभयो । “आज चीन, अमेरिका, भारत, इजरायल शक्तिशाली छन् । यिनीहरूसँग सन्तुलन गर्नुपर्छ । तर, हामी कहिले हमासतिर, कहिले अरू अतिवादी धारतिर झुक्ने संकेत दिन्छौँ,” उहाँले भन्नुभयो । उहाँले अहिलेको अवस्थामा नेपालले ‘साइलेन्ट डिप्लोमेसी’ अपनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

वर्तमान सरकारबारे बोल्दै उपाध्यायले अहिलेसम्म निर्णायक मूल्यांकन गर्न हतार गर्न नहुने बताउनुभयो । उहाँले सरकारको शैलीलाई ‘परम्परागत राजनीतिक ढाँचाभन्दा फरक’ भनेर व्याख्या गर्नुभयो । ‘अझै ५० दिन पनि भएको छैन । तर, केही संकेतहरू आएका छन्, यो केवल सरकार बदल्न आएको होइन, प्रणाली बदल्न आएको सरकार हो,” उहाँले भन्नुभयो ।

उहाँले जनताले दिएको दुईतिहाइ समर्थनलाई ‘रूपान्तरणको म्यान्डेट’ का रूपमा व्याख्या गर्नुभयो । यदि फेरि पुरानै शैलीमा फर्कियो भने जनताले म्यान्डेट फिर्ता लिन पनि सक्ने उहाँले चेतावनी दिनुभयो ।

प्रभावकारी प्रतिपक्षको अभाव
उपाध्यायले अहिले नेपालमा प्रभावकारी प्रतिपक्षको अभाव रहेको बताउनुभयो । लोकतन्त्रमा सशक्त प्रतिपक्ष आवश्यक रहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “प्रतिपक्ष नभए लोकतन्त्र कमजोर हुन्छ । तर, केवल विरोध मात्र गर्ने समूह भयो भने लोकतन्त्रको आत्मा नै मर्छ ।”

संवादको अन्तिम भागमा उपाध्यायले राज्यको कानुनी अभ्यास, पक्राउ शैली र नागरिक अधिकारको अवस्थाबारे चिन्ता व्यक्त गर्नुभयो । उहाँले अनुसन्धान पूरा नगरी नागरिक पक्राउ गर्ने प्रवृत्तिको विरोध गर्दै भन्नुभयो, “पहिले प्रमाण जुटाएर मात्र पक्राउ गर्नुपर्छ। मान्छेलाई हतारमा हिरासतमा राख्ने काम गलत हो ।”

उहाँका अनुसार, अदालत, प्रहरी र प्रशासनप्रतिको जनविश्वास क्रमशः कमजोर हुँदै गएको छ । “आज जनताले कसैलाई श्रद्धेय मान्दैनन्,” उहाँले भन्नुभयो ।

राजनीतिमा युवा पुस्ताको आवश्यक्ता
उपाध्यायले नेपालको राजनीति पुरानो पुस्ताले नियन्त्रण गरिरहनु नै सबैभन्दा ठुलो समस्या भएको बताउनुभयो । “युवालाई छोड्नुपर्छ । युवालाई छोड्नासाथ यो भित्रका कमीकमजोरी उसले आफ्नो भविष्य जसरी राम्रो लाग्छ हिजो इतिहासमा एउटा कुरा गर्यो भनेर त्यही लकिर समात्दै हिँड्नुपर्छ भन्ने छैन । युवाले सोच्ला नि यो व्यवस्थामा सुधारेर हुन्छ कि फालेर हुन्छ कि त्यो युवालाई छोडौँ । अरु बाहिर बसेर हामी गाइड गरौँ, सल्लाहकार बनौँ, अम्पायर बनौँ, आफैँ हिरो बन्न नजाऔँ, डाइरेक्टर बन्न नजाऔँ । जो ३० वर्षको छ, उसले आगामी ४० वर्षको नेपाल सोच्न सक्छ । तर, जीवनको अन्तिम चरणमा पुगेका नेताहरूले देशमाथि नियन्त्रण कायम राख्न खोज्दा समस्या बढेको हो,” उहाँले भन्नुभयो ।

अहिलेको संसद्‌मा प्रभावकारी प्रतिपक्षको अभाव रहेको पनि उहाँले औँल्याउनुभयो । लोकतन्त्रमा प्रतिपक्ष नहुँदा व्यवस्थाको आत्मा नै मर्ने भन्दै उहाँले सरकारले गरेका गलत कामको खबरदारी गर्न सशक्त प्रतिपक्षको आवश्यकता रहेको बताउनुभयो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...