विश्वविद्यालयको लक्ष्यमा अगाडि बढ्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

5
  • रमेश गिरी

भक्तपुर, २५ जेठ । बागमती प्रदेशको राजधानी हेटौँडामा गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गरी काठमाडौँ बाहिरका उत्कृष्ट मेडिकल कलेजका रुपमा विकास गर्ने लक्ष्य बोकेर अगाडि बढ्दैछ मदन भण्डारी विज्ञान स्वास्थ्य प्रतिष्ठान ।

देशका सातै प्रदेशमध्येका पहिलो स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापित हुँदै सेवा प्रवाहमा निरन्तर अगाडि बढेको संस्थाका रुपमा यसले पहिचान बनाउन सफल भएको छ । बागमती प्रदेशमा ठुलो अस्पताल सञ्चालन गर्ने मात्र नभइ बागमती प्रदेशभित्रका प्रदेशस्तरीय अस्पतालहरुका लागि आवश्यक स्वास्थ्यका जनशक्ति उत्पादन गर्ने मूल लक्ष्यका साथ २०७६ असोज २ गते बागमती प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, सेवा र अनुसन्धानमूलक कार्यको लक्ष्यसहित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ मार्फत सञ्चालनमा ल्याएको यस प्रतिष्ठानले छोटो समयमा आफ्नो लक्ष्य हासिल गर्न सफल भएको छ ।

ऐन जारी भएपछि प्रतिष्ठानले औपचारिक रूपमा २०७७ सालदेखि आफ्नो कार्य सुरु गरी हेटौँडालाई मात्र नभइ बागमती प्रदेशका १३ जिल्लालाई स्वास्थ्य सेवा र चिकित्सा शिक्षा उपलब्ध गराउने केन्द्रका रूपमा प्रदेश सरकारबाट अधिकार प्रदान गरेको छ ।

प्रदेशको मुख्यमन्त्री कुलपति र स्वास्थ्यमन्त्री सहकुलपति रहने ऐनमा व्यवस्था गरेअनुसार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रतिष्ठानको कुलपति, स्वास्थ्यमन्त्री किरण थापा मगर सहकुलपति र प्रदेश सरकारले नियुक्त गरेको प्राडा प्रदीप ज्ञवाली उपकुलपतिका रुपमा कार्य गर्दै आउनुभएको छ ।

प्रतिष्ठानका कुलपति एवम् प्रदेशका मुख्यमन्त्री बानियाँले हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेश सरकारद्वारा स्थापना गरिएको नेपालको पहिलो प्रदेशस्तरीय स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको बताउनुहुन्छ । यसको मुख्य उद्देश्य गुणस्तरीय स्वास्थ्य सेवा, चिकित्सा शिक्षामा जनशक्ति उत्पादन र स्वास्थ्य अनुसन्धानलाई एकै संस्थामार्फत अगाडि बढाउनु नै रहेको उहाँ बताउनुहुन्छ ।

मुख्यमन्त्री बानियाँ भन्नुहुन्छ, “प्रदेश सरकारले प्रतिष्ठानलाई प्रदेशस्तरको प्रमुख स्वास्थ्य शैक्षिक संस्थाका रूपमा विकास गर्ने योजनाका साथ हामी अगाडि बढेका छौँ, यसका लागि प्रदेश सरकारले आवश्यक बजेट र कार्यक्रम अगाडि सारेको छ ।”

प्रतिष्ठानका सहकुलपपति एवम् स्वास्थ्यमन्त्री मगर प्रदेशको १३ जिल्लाको स्वास्थ्यको ‘हब’का रुपमा यसलाई विकास गर्ने लक्ष्यसहित सरकार अगाडि बढेको बताउनुहुन्छ । प्रतिष्ठानबाटै जनशक्ति उत्पादन, व्यवस्थापनदेखि स्वास्थ्य सवाको विस्तारका कार्यक्रम र शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने तयारीमा रहेको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “प्रतिष्ठानले गैरनाफामूलक शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, आङ्गिक क्याम्पसहरुका रुपमा शैक्षिक सेवा सञ्चालन गर्ने, मल्टिस्पेसालिटी अस्पतालका रुपमा विकास गर्ने, क्याथ ल्याबसहित मुटुको सेवा विस्तार गर्ने, गुणस्तरीय औषधि उत्पादनको ल्याब स्थापना गर्ने लक्ष्यका साथ प्रतिष्ठान अगाडि बढिरहेको छ । विश्वविद्यालय सञ्चालनसम्मको सपना पूरा गर्छौँ ।”

मन्त्रालयकी सचिव डा.सुमित्रा गौतमले प्रतिष्ठानलाई प्रदेशस्तरमा देशकै नमुना अस्पतालका रुपमा विकास गर्न लागिपरेको बताउनुभयो । उहाँले अस्पतालमा सघन उपचार सेवा, सुत्केरी वार्ड, शल्यक्रिया कक्ष, डायलासिस सेवा विस्तारसँगै नयाँ भवनबाट मुटुको उपचारका लागि क्याथ ल्याब, ओपन हार्ट सर्जरी, कार्डियो भास्कुलर सर्जरी, युरो सर्जरी, (पिसाब÷किड्नीसम्बन्धी), ग्यास्ट्रोलोजी, युरो सर्जरी, आँखासम्बन्धी उपचार, नाक, कान, घाँटीको विशिष्टीकृत सेवा, मिर्गौला प्रत्यारोपण सेवा, डायलोसिस सेवालाई ३० शय्यामा विस्तार गरी चौबिसै घन्टा सञ्चालन गर्ने, दन्त सेवा, मनोरोग तथा लागुऔषध दुर्व्यसन उपचार तथा पुनःस्थापना केन्द्रसहितको विशेषज्ञ सेवाहरू सञ्चालनलाई साकार बनाउन लागिरहको छ ।

प्रतिष्ठानका उपकुलपतिका रुपमा प्राडा ज्ञवाली २०८१ असोज १८ गते जिम्मेवारी सम्हालेपछि विकासको गति लिएको थियो । डा(ज्ञवालीका अनुसार प्रतिष्ठानले दक्ष स्वास्थ्य जनशक्ति उत्पादन, सरकारी मेडिकल शिक्षाको विस्तार, स्वास्थ्य क्षेत्रमा अनुसन्धान प्रवद्र्धन, आधुनिक प्रविधिमैत्री चिकित्सा शिक्षा र गुणस्तरीय तथा पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यलाई स्थापित गरेको छ ।

प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्नातक तथा स्नातकोत्तर स्वास्थ्य शिक्षा कार्यक्रम, एनेस्थेसिया टेक्निसियन तालिम, स्वास्थ्यकर्मीहरूको क्षमता विकास तालिम, मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान सङ्काय विस्तारको लक्ष्यका साथ अगाडि बढिरहेको छ । स्थानीय स्वास्थ्य समस्यामाथि अध्ययन, प्रमाणमा आधारित उपचार पद्धतिको विकास, चिकित्सा क्षेत्रमा नवीनता र प्रविधिको प्रयोगमा लागिरहेको यस प्रतिष्ठानले सामुदायिक स्वास्थ्य सेवा, स्वास्थ्य शिविर, जनचेतना कार्यक्रम, स्थानीय तहसँग सहकार्य, प्रदेशका जिल्ला अस्पतालहरुसँगको सहकार्य र विशेष रोगहरूको उपचार सेवा विस्तार गर्दै आएको छ ।

यसै शैक्षिक सत्रबाट एमबिबिएस कार्यक्रम सुरू गर्न सफल भएका छ । अहिले सात वटा कार्यक्रम संस्थागत रूपमा सञ्चालनमा छ भने बिएससी नर्सिङ कार्यक्रममा पनि १० सिट थप गरेर ३० पुर्‍याइएको छ । हाल स्नातक तहमा ४५९ र स्नातकोत्तर तहमा ३२ जना विद्यार्थी अध्ययनरत छन् । स्नातक तहको पहिलो ब्याचका ३३ जना विद्यार्थी लाइसेन्स परीक्षाको तयारीमा छन् । एमबिबिएसको ५० सिटमा अध्ययन सुरू भएको छ ।

हाल नेपालमा विशेषज्ञ चिकित्सकको आवश्यकता बढ्दो अवस्थामा छ । धेरै विद्यार्थी विशेषज्ञ अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यतालाई कम गर्दै यहाँ विशेषज्ञ जनशक्ति उत्पादनमा प्रतिष्ठान लागेको छ । प्रथम वर्षमा सात वटा कार्यक्रम सुरु भएकामा छ वटा कार्यक्रम विस्तार गरी १३ वटा स्नातकोत्तरतर्फका कार्यक्रम सञ्चालन भइरहेको छ । यसले प्रदेशमै विशेषज्ञ शिक्षा प्राप्त गर्ने अवसर सिर्जना मात्रै गरेको छैन, प्रदेशमा आवश्यक जनशक्ति परिपूर्तिको काममा सहजता हुने भएको छ ।

हाल प्रतिष्ठानमा स्नातक तहमा ४५९ जना विद्यार्थी अध्ययनरत छन् भने स्नातकोत्तर तहमा ३२ जना विद्यार्थी अध्ययनरत छन् । एमबिबिएसतर्फ पहिलो ब्याचका ३३ जना विद्यार्थी उत्तीर्ण भइ लाइसेन्स परीक्षामा सहभागी हुँदै छन् । अस्पतालको गुणस्तरीय सेवा विस्तारमा यसले दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन मदत पुर्‍याउने छ ।

प्रतिष्ठानले हाल स्नातक तहका कार्यक्रममा चार वर्ष अवधिको ब्याचलर अफ पब्लिक हेल्थका साथै सरुवारोग, स्वास्थ्य प्रणाली व्यवस्थापन, जनस्वास्थ्य अनुसन्धान, स्वास्थ्य प्रवर्द्धन, शिक्षालगायत विभिन्न विषय सञ्चालन गर्दै आएको छ । त्यस्तै सन् २०२३ बाट चारवर्षे अवधिको बिएसी नर्सिङ अध्ययन सञ्चालन गरेको छ भने चार वर्ष अवधिको स्नातक तहको फार्मेसी अर्थात् बी फर्मा, चारवर्षे अवधिको ल्याब टेक्निसियनलगायतको शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नाका साथै यसै वर्षदेखि एमबिबिएसको अध्ययन सञ्चालनमा ल्याएको छ ।

तालिमतर्फ एनेस्थेसिया प्राविधिक उत्पादनका लागि विशेष तालिम कार्यक्रम सञ्चालन गर्नाका साथै जनस्वास्थ्यमा स्नातकोत्तर, ब्याचलर अफ नर्सिङ साइन्सलगायत स्वास्थ्य विज्ञान कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्यमा रहेको छ । प्रतिष्ठानले प्रदेशका १३ जिल्लाका विद्यार्थीलाई शैक्षिक कार्यक्रममा समावेश गरी यहीँका जिल्ला अस्पतालहरुमा सेवा गर्ने अवसर दिने गरी योजना अगाडि बढाएको छ । सङ्घीय सरकार र विश्वविद्यालय अनुदान आयोगले छात्रवृत्ति अनुदानको व्यवस्था गरे जनशक्ति उत्पादनमा निकै सहज हुने भएकाले प्रतिष्ठान त्यसका अनुदानका लागि पहल गरिरहेको छ ।

विसं २०८२ फागुन २८ गते आठ करोड ६१ लाख रूपैयाँ लागतमा प्रतिष्ठानका लागि मुख्यमन्त्री बानियाँ र स्वास्थ्यमन्त्री मगरले शिलान्यास गर्नुभएको प्रिफ्याब भवनको आउँदो असारमा सम्पन्न गरी सेवा प्रवाह गरिने बताइएको छ । त्यसैगरी, प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा २८ करोड ५४ लाख रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको हेटौँडा अस्पतालको पाँचतले नयाँ भवनको मुख्यमन्त्रीले उद्घाटन गरेपछि थप सेवाहरु विस्तार भएका छन् । प्रतिष्ठान स्थापना हुनुअगाडि हेटौँडा अस्पतालमा जम्मा १०० शय्या थिए । अहिले त्यो सङ्ख्या बढेर ३१३ पुगेको छ । प्रदेश सिनेटले पास गरेसँगै ५०० शय्याको शिक्षण अस्पतालका रुपमा सेवा विस्तार गर्ने लक्ष्य तयारी गरेको छ । अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरी ‘मोडुलर ओटी’ सञ्चालनमा आएपछि जटिल शल्यक्रिया यहीँ हुन थालेपछि बिरामीको विश्वास जित्दै गएको छ ।

पाँच बिघा क्षेत्रफलमा फैलिएको अस्पताल भवनसहितका संरचनाहरुसँगै नजिकै रहेको साढे सात बिघा जमिनको सदुपयोग गर्दै भाडाका भवनमा छरिएर रहेका शैक्षिक सेवालाई आउँदो असार–साउनदेखि एकै ठाउँमा ल्याएर सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । नेपाल रेडक्रस सोसाइटीले हड्पेर भाडा उठाइरहेको संरचना फिर्ता ल्याउनेदेखि प्रदेश आपूर्ति केन्द्र, स्वास्थ्य निर्देशनालयलाई स्थानान्तरण गर्ने प्रयास पनि भइरहेको छ ।

प्रतिष्ठानका शिक्षाध्यष प्राडा दिनेशकुमार लम्सालले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सम्झौता गरेर अनुसन्धानको काम अगाडि बढिरहेको बताउनुहुन्छ । प्रदेशका १३ वटै जिल्लाका अस्पतालमा अनुसन्धानको माध्यमबाट त्यहाँको समस्या पहिचान गरी योजना बनाउन सकिने उहाँ बताउनुहुन्छ । प्रतिष्ठानको आफ्नै परीक्षा बोर्ड छ । प्रतिष्ठानलाई यतिमा मात्रै सीमित नराखी विश्वविद्यालयका रुपमा विकास गरी १३ वटै जिल्लामा शैक्षिक कार्यक्रमको स्वीकृति दिइ स्वास्थ्यको जनशक्ति उत्पादनमा लैजानुपर्ने आवश्यकता रहेको उहाँ बताउनुहुन्छ ।

प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईंले हेटौँडा अस्पताल बागमती प्रदेशकै गौरवको आयोजना भएको बताउनुहुन्छ । नयाँ प्रिफ्याब भवन निर्माण भएसँगै प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरू आफ्नै पूर्वाधारबाट सञ्चालन गर्न सकिने अवस्था सिर्जना हुने, भवनमा कक्षाकोठा, प्रशासनिक कक्ष, प्रयोगशालालगायत आवश्यक पूर्वाधार समावेश गरिने भएको छ ।

यहाँ मकवानपुरबाट मात्रै नभइ सिन्धुली, सर्लाही, बारा, महोत्तरी, बर्दिवासलगायत विभिन्न ठाउँबाट बिरामीको चाप बढ्दै गएको छ । भैतिक पूर्वाधारको विकास, गुणस्तरीय सेवा, टिकट काउण्टर, फार्मेसी काउण्टरको विस्तार, मोडुलर ओटी सञ्चालन, आइसियू लगायतका सेवाहरु विस्तारसँगै अस्पतालको गुणस्तरीय सेवा प्रवाहले दैनिक एक हजार ६०० सम्म बिरामी आउन थालेको बताउनुहुन्छ, प्रतिष्ठानका रजिष्ट्रार गुरागाईं ।

प्रतिष्ठानका डिन डा.इन्दिरा अधिकारी पौडेलले यहाँ सञ्चालन शैक्षिक कार्यक्रममा सहभागीहरुलाई कम्युनिटी फिल्डमा पठाउने गरेको बताउनुहुन्छ । प्रतिष्ठानमा हाल ११० जना शिक्षक सेवारत रहेका छन् ।

प्रतिष्ठानले सानातिना सर्जरी मात्रै नभइ ठुला सर्जरी सेवा पनि यहीँबाट दिन थालेको छ । क्यान्सर, ठुला हर्नियालगायत विभिन्न शल्यक्रिया सेवा यहीँबाट सञ्चालन भएपछि चितवनदेखि काठमाडौँसम्म पठाउनुपर्ने बाध्यता हटेको छ । प्रदेश र सङ्घीय सरकारले आधुनिक प्रविधि पठाउने र जनशक्तिलाई तालिम दिने व्यवस्था गर्न सके प्रदेशका १३ वटै अस्पतालको ‘रेफर सेन्टर’का रुपमा यस अस्पताललाई विकास गर्न सकिने सर्जरी विभागका विभागीय प्रमुख प्राडा सुजन मानन्धर बताउनुहुन्छ । यहाँ रोबोटिक सर्जरी सुरु गर्नसके र मुटु सेवालाई विशेषज्ञ केन्द्रका रुपमा लानसके प्रभावकारी हुने उहाँ बताउनुहुन्छ ।

अस्पतालका निमित्त निर्देशक एवम् बाल रोग विशेषज्ञ डा राजु सेढाईंले अस्पतालमा बालरोगका लागि एनआइसियू र आइसियूको छिट्टै सञ्चालनमा आउन लागेको बताउँदै अस्पतालको विभिन्न सेवा विस्तारको कार्य जारी रहेको बताउनुहन्छ । अस्पतालप्रति बिरामीको विश्वाससँगै चाप बढेको अवस्थामा जनशक्ति उचित व्यवस्थापन गर्नसके अझै प्रभावकारी हुने बताउनुहुन्छ । अस्पतालमा उपचारका लागि आउने मिर्गौलाका बिरामीका लागि ओपिडी सेवा सहज भए पनि डायलासिका लागि भने पालो कुर्नुपर्ने अवस्था रहेको अस्पतालकी मिर्गौला रोग विशेषज्ञ एवम् प्रमुख दिव्यश्वरी श्रेष्ठ बताउनुहुन्छ । मिर्गौला रोगका बिरामीलाई सहज सेवा प्रवाह गरेको उहाँको भनाइ छ । –रासस

Share This:
सम्बन्धित खबर
Loading...