मेरो प्यारो माइती घर : कहिल्यै ‘पराइ’ नबनिदिनु

16
  • सन्तोषी रावल

आज मेरो विवाहको दिन जीवनको एक नयाँ अध्याय सुरू हुने क्षण । यो मेरो लागि खुसीको लहर मात्र होइन, छोरीको जीवनमा आउने सबैभन्दा भावुक मोड पनि बनेको छ । आज माइतीबाट एउटा छोरी घट्दैछु, तर मनका हरेक कुनामा माइतीकै माया, सम्झना र सिकाइ बोकेर नयाँ घरतिर पाइला चाल्दै छु ।

सानैदेखि हुर्केको आँगन, आमाको माया, दाजुभाइको साथ दिदी–बहिनीको सपोर्ट यी सबैलाई पछि छाडेर आज म ‘पराइ घर’तिर जाँदै छु । यो मेरो पालोमा मात्र होइन, पुस्तौँदेखि चलिआएको परम्पराको निरन्तरता हो । तर, परम्पराभन्दा माथि उठेर आज मेरो मनमा एउटा मिश्रित अनुभूति छ–खुसी पनि, पीडा पनि । आँखा रसाउँछन्, तर मुटुमा आशाको दीप पनि बलिरहेको छ ।

आजदेखि म कसैकी बुहारी, कसैकी जीवनसाथी बन्दै छु । नयाँ घर, नयाँ सम्बन्ध, नयाँ जिम्मेवारी सबैकुरा नयाँ भएपनि म आफैँलाई हराउन चाहन्नँ । मेरो श्रीमान्‌को समझदारीले मलाई गर्व महसुस गराएको छ । छोरी भएर जन्मिनु कमजोरी होइन, शक्ति हो भन्ने सन्देश दिन चाहन्छु । आज म बिहे गरेर जाँदै छु, तर माइतीको माया र संस्कार सधैँ मेरो साथमा रहनेछन् । यही भावनाका साथ, नयाँ जीवनप्रति आशावादी हुँदै, म आफ्नो भविष्यतिर अघि बढ्दै छु ।

आमा, तपाईंको सहारा छुट्दैछ…
सानै छँदा बुबाको सामीप्यता गुमाउनु पर्दाको त्यो रिक्तता मेरी आमाले हामी छोराछोरीको छायाँ बनेर मेट्नुभयो । आमाका लागि म एउटा छोरी मात्र थिइनँ, म उहाँको साहस र एउटा बलियो खम्बा थिएँ । बिहेको कुरा चलेदेखि नै आमाका मनमा निराशा छाएको छ, आँखा ओभाना छैनन् । म आमालाई सम्झाउँछु ‘आमा, तपाईंको एउटा छोरीको संख्या घटेको होइन, तपाईंलाई अर्को साहारा गर्ने एउटा छोरा (जुवाइँ) थपिनुभएको हो । तर, यसो भनिरहँदा मेरो आफ्नै मुटु भने छियाछिया भइरहेको छ । बुबा, भइदिएको भए आज म ढुक्कले ‘छोरी’ मात्र भइ बिदा भएर पराई घर जान्थें होला तर आज आमालाई एक्लै छाडेर जाँदा जिम्मेवारीको भारीले मन थिचिएको छ ।

माइतीघर र सम्झनाका तरेलीहरू
बाल्यकालमा दाजुभाइसँग खेलेका ती आँगन, सँगै खाएका ती गाँसहरू अब ‘पराइ’ झैँ लाग्नेछन् । सोच्दा पनि मन भक्कानिएर आउँछ । हिजोसम्म जुन घरको म हकदारी छोरी थिए आजबाट त्यहीँ घरमा पाहुना बनेर आउनुपर्ने छ ? एउटा छोरीका लागि योभन्दा ठुलो विडम्बना के होला ? हुर्किएपछि छोरीले पराई घर जानैपर्छ भन्ने समाजको रित त छ, तर आफ्नै जन्मघर पराइ बन्नुको पीडा एउटी छोरीलाई मात्र थाहा हुँदो रहेछ ।

नयाँ सुरुवातः विनोद र म
आजबाट मेरो सिउँदोमा सदाका लागि सिन्दुर भरिँदै छ । चिनजान नै नभएको, एउटा अपरिचित व्यक्तिसँग अब मेरो बाँकी जीवनको नाता जोडिँदै छ । विनोद, आजबाट हामी दुई मुटु एक धड्कन बन्दैछौँ । म तपाईंको घरमा बुहारी बनेर त आउँदैछु, तर मलाई छोरीकै जस्तै व्यवहार मिलोस् भन्ने चाहना छ । म आफ्ना सासू–ससुरालाई आफ्नै आमाबुबा सरह सम्मान र माया दिनेछु ।

मेरो कामना यति मात्र छ । मेरो श्रीमानको प्रिय पात्र म मात्र बनुँ, र मेरो लागि उहाँ मात्र सर्वस्व बन्नुहोस । मैले कसैको श्रीमती, कसैको बुहारी भएकै कारण कहिल्यै कुनै हिंसाविरुद्ध आवाज उठाउनु नपरोस्, अपहेलना सहनु नपरोस् । मेरो कर्मघरले मलाई विश्वास गरोस्, ताकि म दुवै घरको जिम्मेवारीलाई सन्तुलित रूपमा निभाउन सकुँ ।

बिदाईको क्षण
ए, मेरो प्यारो माइती घर । म तिमीबाट टाढा जाँदै छु तर तिमी मेरो लागि कहिल्यै ‘पराइ’ नबनिदिनु । आमा, म बिहे गरेर टाढा गए पनि मेरो मन सधैँ तपाईंकै काखमा हुनेछ । आज वैशाख १ गते, मेरो सिउँदो रङ्गिँदै गर्दा मेरो जन्मघर रोइरहेको छ र कर्मघर खुसीले नाचिरहेको छ । यो स्वभाविक प्रकृया पनि हो । यो आँसु र मुस्कानको दोसाँधबाट म आफ्नो नयाँ जीवनको यात्रा सुरु गर्दै छु । विनोद, धेरै धेरै माया ! आजबाट हाम्रो नयाँ संसारको सुरुवात भयो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...