- प्रमिला कार्की
काठमाडौँ, २७ पुस । कलेजो शरीरको सबैभन्दा ठुलो आन्तरिक अङ्ग हो । यसले शरीरका अन्य भागहरूले प्रयोग गर्ने रसायनहरू स्राव गर्छ । कलेजोले कार्य गर्न छाडेमा सम्पूर्ण शरीर नै बन्द हुन्छ । किनकी यसले शरीरलाई सामान्य अवस्थामा राख्न आवश्यक रसायन उत्पादन गर्छ । तर, पछिल्लो समय अस्वस्थकर जीवनशैली र खानपानमा कारण नेपालमा कलेजोको रोग बढ्दो क्रममा रहेको चिकित्सकहरु बताउँछन् ।
कलेजोका विरामीहरुको एकिन डाटा नभएता पनि सामान्य बिरामीहरूको संख्या नेपालमा रोग बढ्दो रहेको हेपाटोलोजिष्ट डाक्टर विकास जैशी बताउनुहुन्छ । नेपाल न्यूज बैङ्कसँगको कुराकानीमा उहाँले २० देखि ६० वर्षका उमेर समूहका मान्छेहरूमा एकसयमध्ये २० देखि ३० जनामा कलेजोको समस्या देखिने गरेको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “कलेजो रोगहरूका सम्बन्धमा हामीले अनुसन्धान चाहिँ गरेका छैनौँ । यतिनै पपुलेसनमा रोग छ भन्ने चाहिँ छैन । तर, पनि सामान्य बिरामीहरूको अवस्था हेर्दा २० देखि ६० वर्ष उमेरका मान्छेहरूमा १०० जनामध्ये २० देखि ३० जनामा कलेजोमा केही न केही रोगको समस्या भएको देखिएको छ । यो पहिलेको भन्दा बढेको हो ।”
त्यस्तै, उहाँका अनुसार जंङ्कफुडका साथै मादक पेय पदार्थको सेवन कलेजो रोगको प्रमुख कारण बनेको छ । अहिले आएर मानिहरूमा मोटोपनको समस्या बढ्नु पनि अर्को प्रमुख कारण बनेको उहाँ बताउनुहुन्छ ।
“कलेजो बिग्रिने मुख्य कारणहरूमा रक्सी खाएर लिभर डिजिज हुने, हेपाटाइटिस ‘बी’, हेपाटाइटिस ‘सी’ले कलेजोमा असर गर्ने साथै विभिन्न औषधिहरू, आयुर्वेद जडीबुटी, दुखाइ कम गर्ने औषधिले पनि कलेजो ड्यामेज गर्ने र चिल्लोको कारणले पनि कलेजो बिग्रिने गरेको पाइन्छ । तर, अहिले आएर मान्छेहरूमा मोटोपनको मात्रा बढेको, एक्सरसाइज कम गर्ने गरेको, जङ्क फुडहरू, चिल्लो वा गुलियो खाने कुराले पनि समस्या देखिने गरेको छ । अल्कोहल र फ्याट्टी लिभर डिजिज नेपालमा कमन भएको छ ।”
डाक्टर जैशीले हेपाटाइटिस ‘बी’ र ‘सी’को भिन्नतालाई पनि स्पष्ट पारेका छन् । हेपाटाइटिस ‘बी’ र ‘सी’ भनेको भाइरसबाट सर्ने रोग भएको बताउँदै उहाँले हेपाटाइटिस ‘बी’ आमाबाट बढी सर्ने र हेपाटाइटिस ‘सी’ ड्रग एब्युजबाट बढी सर्ने जानकारी दिनुभयो ।
“हेपाटाइटिस ‘बी’ र ‘सी’ दुईवटै भाइरसबाट सर्ने रोग हुन् । सर्ने रोगहरू सामान्यत रगतबाट सर्ने, अनि आइभी सेवन गर्दा, निडलहरू सेयर गर्दा, यौन सम्पर्क गर्दा अनि कपाल काट्दा ब्लेडहरूबाट सर्ने गर्छ । अनि आमाबाट पनि बच्चालाई सर्ने गर्छ,” उहाँले भन्नुभयो,“यो भाइरसको डिजिज भएकाले यिनीहरू सबै तरिकाले सर्छन् । तर, आइभी ड्रिङ्किङ ड्रग एब्युजरहरूमा हेपाटाइटिस ‘सी’ र ‘बी’ आमाबाट बढी सर्छ । हेपाटाइटिस ‘सी’ चाहिँ आइभी ड्रग एब्युजबाट बढी सरेको देखिएको छ ।”
त्यस्तै, उहाँले कलेजोको समस्या अचानक लिभर फेल र अर्को दीर्घकालीन लिभर समस्या दुई वटा हुने बताउनुभयो । एक्युट लिभर फेलरले छोटो समयमा नै कलेजो बिग्रिए मृत्यु हुने सम्भावना हुने बताउँदै उहाँले छ महिनाभन्दा बढी रोग लाग्यो भने त्यो दीर्घकालीन हुने बताउनुभयो ।
“एक्युट लिभर फेलर अथवा छोटो समयमा कलेजो बिग्रिने कन्डिसन एउटा भयो भने अर्को क्रोनिक लिभर डिजिज हो । छ महिनाभन्दा लामो समयदेखि कलेजोमा समस्या आयो त्यो बिस्तारै बिस्तारै कलेजो बिग्रिँदै गएर रोग लागेको २०–३० वर्ष वा ४० वर्षपछि कलेजो बिग्रिने हुन्छ । ६ महिनाभित्रै कलेजो बिग्रिएर बिरामीको मृत्यु भयो अथवा कलेजो फेर्नुपर्यो भने त्यो एक्युट लिभर डिजिज भनेर भन्न सकिन्छ । ६ महिनाभन्दा बढी रोग लाग्यो भने त्यो दीर्घकालीन भयो,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार कलेजोको प्रत्यारोपण गर्दा नेपालमा २५–३० लाख रुपैयाँ खर्च लाग्छ भने यो भारतको तुलनामा धेरै सस्तो हो । त्यस्तै, उहाँले कलेजो प्रत्यारोपण गर्न आफ्ना परिवारको सदस्यको मात्र मिल्ने र अरुबाट किन्न नमिल्ने जनाउनुभयो ।
उहाँले भन्नुभयो, “कलेजो ट्रान्सप्लान्ट गर्दा नेपालमा २५–३० लाख रुपैयाँ लाग्छ । भारतमा ५०–६० लाख नेपाली पैसा लाग्छ । कलेजो पनि बिरामीका आमाबुवा, दाजुभाइ, दिदीबहिनी, श्रीमती, छोराछोरी यिनीहरुले मात्र दिन मिल्छ । कलेजो अरुबाट किन्न मिल्दैन । छोटो समयको कलेजो, एक्युट लिभर फेलर रहेछ भने कलेजोको पातलोपन भयो अनि बेहोसी भएर बिरामी उठ्नै सकेन, बिरामी चेतमै आएन भने छोटो टाइमको कलेजोको रोग भएकालाई नै हामी ट्रान्सप्लान्ट गर्छौँ ।”
कालो दिशा भएमा, बेहोसीपन भएमा, कलेजोमा क्यान्सरको दागहरु आयो र सिरोसिसको कारणले मृगौलामा असर पर्न थाल्यो भन्ने यस्तो अवस्थामा मात्र कलेजोको प्रत्यारोपण गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
कलेजो रोगको उपचारमा २०–२५ वर्षमा नेपालले राम्रो फड्को मारेको बताउँदै उहाँले कलेजो रोगसँग सम्बन्धित ९९ प्रतिशत उपचार सम्भव रहेको दाबी गर्नुभयो ।
“कलेजो रोगको उपचारमा अहिले २०–२५ वर्षमा राम्रो फड्को मारेको छ । हेपाटाइटिस ‘बी’, ‘सी’ को हामी उपचार गर्छौँ । हेपाटाइटिस ‘सी’को उपचार एकसय प्रतिशत अहिले सक्सेस छ । हेपाटाइटिस ‘बी’को संसारमा जे औषधि पाइन्छ, ती सबै औषधि नेपालमा उपलब्ध छ । रोगहरुमध्ये ९५ प्रतिशत उपचार नेपालमै सम्भव छ । रिफर रेट पनि धेरै घटेको छ । अर्को ठाउँमा रिफर गर्दैनौँ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार ट्रान्सप्लान्ट गरेको कलेजो एक वर्षसम्म बाँच्ने सम्भावना एकसय प्रतिशत, पाँच वर्ष बाँच्ने सम्भावना ७५ प्रतिशत र १० वर्ष बाँच्ने सम्भावना ५० प्रतिशत हुन्छ ।
यसैगरी अस्वस्थ जीवनशैलीका कारण पछिल्लो समय कलेजोसम्बन्धी रोग, फ्याटी लिभरको समस्या बढ्दै गएको हेपाटोलोजिष्ट डाक्टर जैशी बताउनुहुन्छ । उहाँले तयारी खानेकुरा (प्रिपेयर फुड), जंक फुडको बढी सेवन, शारीरिक व्यायामको कमी लगायतका कारण कलेजोमा चिल्लो जम्ने समस्या बढेको उल्लेख गर्नुभयो ।
डा.जैशीका अनुसार अस्वस्थ्यकर खानपान, मदिरा सेवन तथा चिकित्सकको सल्लाहबिनै औषधि सेवन गर्नु कलेजोका लागि हानिकारक हुन्छ । “डाक्टरलाई नदेखाइ औषधि किनेर खाने, अरूले खाएर निको भएको भन्दै आफू पनि त्यहीँ औषधि सेवन गर्ने प्रवृत्तिले कलेजोलाई गम्भीर क्षति पुर्याउन सक्छ,” उहाँले भन्नुभयो ।
कलेजोलाई जीवनभर स्वस्थ राख्नका लागि डा.जैशीले चार–पाँच महत्त्वपूर्ण सुझाव सम्धै दिने गरेको बताउनुभयो । उहाँका अनुसार मदिरा सेवन नगर्ने, तौल बढ्न नदिने, आयुर्वेदिक जडीबुटी तथा दुखाइ कम गर्ने औषधि चिकित्सकको सल्लाहबिनै नखाने मुख्य उपाय हुन् । यदि औषधि खानै परेमा अनिवार्य रूपमा डाक्टरको परामर्श लिनुपर्ने उहाँले जोड दिनुभयो ।
त्यसैगरी कलेजोमा कुनै समस्या भएको शंका लागेमा भिडिओ एक्स–रे र लिभर फङ्सन टेस्ट (एलएफटी) जस्ता परीक्षण गर्नुपर्ने डा.जैशीले सुझाव दिनुभयो । परीक्षणमा केही असामान्य देखिएमा तुरुन्तै कलेजो रोग विशेषज्ञसँग सम्पर्क गर्नुपर्ने उहाँको भनाइ छ । –नेपाल न्यूज बैङ्क