सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

23

काठमाडौँ, १४ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–९ बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका–६ घर भएका २३ वर्षीय सुनिलकुमार सोनारलाई पक्राउ गरिएको छ ।

सुनिलले सर्बिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १० लाख लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई काठमाडौँ महानगरपालिका–१० बाट बिहीबार पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार निजलाई कारवाहीको लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ ।

यसैबीच, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादी पनि पक्राउ परेका छन् । तनहुँ बन्दिपुर गाउँपालिका–१ का ४७ वर्षीय विष्णुबहादुर भण्डारी र काठमाडौँ महानगरपालिका–२६ गोंगबु बस्ने रोल्पा माडी गाउँपालिका–४ का ३८ वर्षीय प्रेमबहादुर विकलाई पक्राउ गरिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट भएको प्रहरी टोलीले जिल्ला अदालत काठमाडौँको २०८० मंसिर २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ११ लाख जरिवाना र एक महिना कैद सजाय ठहर भइ फरार रहेका भण्डारीलाई काठमाडौँ महानगरपालिका–३ महाराजगञ्जबाट शुक्रबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका विकलाई काठमाडौँ महानगरपालिका–२६ गोंगबुबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भण्डारीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको छ भने विकलाई इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएको छ ।

साथै चेक अनादर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका–३ इमाडोल बस्ने मोरङ लेटाङ नगरपालिका–९ घर भएकी ५५ वर्षीया असारी लिम्बुलाई पनि शुक्रबार पक्राउ गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...