पूर्वराष्ट्रपति भण्डारीद्वारा बुद्धजयन्ती तथा उभौली पर्वको शुभकामना

37

काठमाडौँ, २९ वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनमा करूणा, अहिंसा र शान्तिमात्रै मानव सभ्यताको रक्षा हुने बताउनुभएको छ ।

शान्तिका अग्रदूत गौतमबुद्धको २५६९औँ जन्मजयन्ती तथा किरात समुदायको पर्व उभौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले नेपालको लुम्बिनीमा जन्मनुभएका बुद्धले मानव जीवनमा करुणा, अहिंसा र शान्तिको मार्ग देखाउनुभएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत् पूर्वराष्ट्रपति भण्डारीले लेख्नुभएको छ ,“आपसी सम्मान, सहिष्णुता र सन्तुलित जीवनशैलीका लागि बुद्धले दिनुभएको मध्यममार्ग, करुणा र अहिंसाको सन्देश आजको विश्वमा झनै सान्दर्भिक बनिरहेको छ ।”

त्यसैगरी उहाँले किरात समुदायको उभौली पर्वले आपसी सद्‌भाव, सहिष्णुता र सम्मानको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले किरात समुदायको मौलिक संस्कृति, पृथ्वी, प्रकृति र पितृप्रतिको श्रद्धा र कृषि परम्परा झल्काउने उभौली पर्वले हामीलाई प्रकृतिसँगको सहअस्तित्व, ऋतुसँगको तालमेल र समाजसँगको समन्वयको अमूल्य सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले लेख्नुभएको छ,“नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान बोकेको विविधतायुक्त मुलुकमा साझा पहिचान र सहअस्तित्वको संस्कृति अझ बलियो बनोस्, उभौली पर्वले सबैमा नवऊर्जा, आपसी प्रेम र राष्ट्रिय गौरवको भावना थप प्रगाढ बनाओस् भन्ने कामना गर्दछु ।”

Share This:
सम्बन्धित खबर
Loading...